• Saturday, May 03, 2025

नागढुङ्गा सुरुङमार्गको काम ६० प्रतिशत सकियो

विष्णु पाण्डेय / काठमाडौं, साउन २२ गते । राजधानी नजिक बन्दैगरेको महत्वाकांक्षी सुरुङमार्गका रुपमा रहेको नागढुंगा सुरुङमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ । अब बाँकी काम आठ महिनामा सक्ने गरी काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो ।

जापान सरकारको १६ अर्ब रुपियाँ र घरजग्गा प्राप्तिका लागि नेपाल सरकारको ६ अर्ब गरी कुल २२ अर्ब लगानीमा यो सुरुङ्मार्ग निर्माण भइरहेको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार आगामी वर्षको साउन अन्त्यतिर यस आयोजनाको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । “आगामी सालको साउन अन्त्यसम्ममा आयोजनाको सबै काम पूरा गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ, तर एक दुई महिना तलमाथि हुनसक्छ” उहाँले भन्नुभयो ।

काम सुरु हुनेबित्तिकै कोरोना महामारी सुरु भएका कारण पहिलो लहरमा यस आयोजनाको केही काम गर्न नसकिएको उहाँको भनाइ छ । सुरुङमार्ग निर्माणका लागि २०७१ सालमा प्रारम्भिक अध्ययन भई २०७२ मा लगानी सुरक्षित गरिएको थियो । २०७३ मा यसको डिजाइन सुरु भएको थियो ।

२०७५ साउनमा आयोजनाको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएअनुसार हाज्मा कम्पनी र सडक विभागबीच ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम जापानको हाज्मा आन्द्रो कम्पनीले आयोजनाको काम गरिरहेको छ ।

२०७६ कात्तिक २८ गतेबाट आयोजनाको काम सुरु भएको थियो । यस आयोजनाको १२ वटा स्ट्रक्चरमध्ये १० वटा सकिएको आयोजना प्रमुख शाक्यले जानकारी दिनुभयो । बाँकी दुईवटा निमार्णको क्रममै रहेको उहाँको भनाइ छ ।

यस्तै, जग्गा प्राप्तिको ८५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा अहिले सुरुङमार्ग निर्माणको क्रममा कमजोर जमिन फेला परेकाले ‘ब्रेक थ्रू’ गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।

‘यस आयोजनामा अहिले नियमित काम भइरहेको छ । तर सुरुङ खन्ने क्रममा कमजोर जमिन फेला परेकाले ब्रेक थ्रू गर्न सकिएको छैन्’ उहाँले भन्नुभयो, “यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ ।”

फ्लाइओभरको चारवटा फाउण्डेसनमध्ये दुई वटाको काम पनि सकिएको छ । सुपरस्ट्रक्चरको काम पनि सम्पन्न भएको छ । ‘दुई वटा फाउण्डेसनको जग्गा प्राप्तिको कारण काम ढिला सुरु भएको हो । अहिले बलम्बुमा जग्गा प्राप्ति ८५ प्रतिशत सकियो । अब त्यहाँ बिजुलीका लाइन जाने बित्तिकै फाउण्डेसन सुरु गरिहाल्छौँ’ उहाँले भन्नुभयो ।

सुरुङमार्गका विशेषता

आयोजना प्रमुख शाक्यका अनुसार सुरुङमार्ग निर्माणपछि बाटोमा गाडी जाम भएर मानिसलाई धेरै समय कुर्नुपर्ने अवस्था हुँदैन । सन् २०१५ मा गरिएको एक अध्ययनले यस खण्डमा यात्रा गर्दा प्रतिव्यक्तिले ४० मिनेट यस बाटोको जाममा बिताउनुपरेको तथ्याङ्क रहेकाले सुरुङमार्ग निर्माण पछि यो समस्या अन्त्य हुने विश्वास छ ।

सुरुङमार्ग आधुनिक किसिमको भएकाले यसमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रयोग गरिएको निर्माण कम्पनीले जनाएको छ । आयोजना प्रमुख शाक्यले भन्नुभयो, “सुरुङमार्ग डबल लेनको छ, आपतकालीन सुविधादेखि अन्तर्राष्ट्रिय मापदण्डको सबै सुविधा यसमा छ । नेपालमा यो सुरुङ निर्माण भएपछि अन्य ठाउँमा पनि सुरुङमार्ग निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न आयोजना समयमै सक्नु आवश्यक छ ।” सुरुङमार्ग भएर सवारीहरु आवतजावत गर्दा जाममा नपर्ने र अहिलेकोजस्तो घण्टौँ जाममा बसेर समय बर्बाद गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

हाल यो सुरुङमार्ग निर्माण खर्चिलो देखिए पनि यसले दीर्घकालीन समाधान दिने उहाँको भनाइ छ । ‘अहिले यो आयोजना निर्माणको क्रममा धेरै खर्चिलो देखिए पनि पछि पहिरो पन्छ्याउने, पटक–पटक सडक मर्मत गर्नुपर्ने समस्या हुँदैन । यसकारण यो आयोजना दीर्घकालीन हुन्छ,’ शाक्यले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter