• Saturday, May 03, 2025

आदिवासीको विकासबाटै देशको समृद्धि सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन २३ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताउनु भएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालको सबैभन्दा ठूलो समुदाय आदिवासी, जनजातिको सर्वाङ्गीण विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’

२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्य समितिद्वारा काठमाडौँमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उहाँले स्मरण गराउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । नेपालको संविधानले आदिवासी, जनजाति समुदायको विकास र समृद्धिको लागि छुट्टै आयोगको व्यवस्था गरेको छ ।’’

यसैगरी, प्रधानमन्त्रीले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण कार्यहरु गर्दै आएको चर्चा गर्दै भन्नुभयो, ‘‘आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरी आदिवासी, जनजातिहरुको पहिचान गर्ने, उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने काम मेरो नेतृत्व रहेको यसअघिको सरकारले नै गरेको स्मरण गराउन चाहन्छु ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘आज आदिवासी, जनजातिको पहिचानलाई उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ । राज्यका हरेक तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी रुपमा आत्मसात गर्दै राष्ट्रको विकास र समृद्धिका लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ ।’’

प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।

जनजातिको उत्थानबाटै मुलुकको समुन्नति : महामन्त्री थापा

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिहरुको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले कांग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजातिहरु अटाउन नसक्ने जिकिर समेत गर्नुभयो । कांग्रेसले मात्रै आदिवासीहरुको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाले आफ्नो पार्टीले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

समितिका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले आदिवासी, जनजातिका हक अधिकारका बारेमा चर्चा गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter