एउटै गाउँबाट पाँच करोडको सुन्तला बिक्री

गणेश खनाल / अर्घाखाँची, पुस ६ गते । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो ।

एउटा गाउँ सिम्लेबाट मात्रै पाँच करोडको सुन्तला व्यापारीले खरिद गरेका छन् । पाणिनी गाउँपालिका —१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । यहाँका कृषकले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका छन् ।

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ५० क्विन्टलभन्दा बढी सुन्तला फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उहाँले बताउनुभयो । यहाँका किसानले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उहाँले बताउनुभयो ।

किसान दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तलाबाट गत वर्ष ९ लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो । यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्नेगरेको उहाँले जानकारी दिनुभयो । बजारमा अहिले १ सय रुपियाँदेखि १ सय ५० रुपियाँसम्ममा सुन्तला बिक्री भइरहेको छ ।

यस वर्ष पाणिनीको पोखराथोकमा शीत भण्डार बनाएपछि किसानले शीत भण्डारमा भण्डारण गरेका छन् । अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएको अगुवा किसान चिरञ्जीवी पौडेलले बताउनुभयो ।

अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्नेगरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारीहरू ट्रक लिएर नै किसानको घरमा पुग्नेगरेका हुन् । व्यापारीहरू सुन्तला खरिद गर्न घरमै पुगेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter