• Friday, May 02, 2025

मलेसियामा रहेका नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

काठमाडौं, माघ २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गर्नुभएको हो।

“मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’’ उहाँले भन्नुभयो, “यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ। यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ।’’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिनुभयो। यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

“आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ’’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यवसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागिसमेत दुबै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

श्रमिकको सुरक्षामा मलेसिया गम्भीर छ : इस्माली

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो। उहाँले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिनुहुँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली श्रमिकको प्रशंसा गर्दै कामदारलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताउनुभयो।

छलफलपछि दुबै पक्षबीच नेपाल र मलेसियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ। यसका लागि दुबै पक्षका सम्बन्धित र निकायले आपसी सहकार्य गर्नेछन्।

भेटका अवसरमा दुबै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भानामा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter