• Wednesday, April 23, 2025

धनगढीको छ लेन सडकमा बल्यो ‘स्मार्ट’ बत्ती

अविनाश चौधरी / धनगढी, फागुन १० गते। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको छ लेन सडकमा बुधबारदेखि स्मार्ट सडक बत्ती बल्न सुरु भएको छ। छ लेन सडकलाई राति उज्यालो बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्मार्ट सडक बत्ती जडान गरिएको हो। सो बत्तीको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधबार साँझ उद्घाटन गर्नुभयो।

वडा नम्बर ३ को मोहनापुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडान गरिएको छ। छ लेन सडकको साढे छ किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान भएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो।

नेपाल विद्युत प्राधिरण, राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा स्मार्ट सडक बत्ती जडान गरिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिनुभयो।

उहाँले धनगढी उपमहानगरपालिकाको उद्देश्य १९ वटै वडालाई उज्यालो बनाउने रहेको बताउनुभयो। ‘छ लेन सडक अत्यन्त महत्वपूर्ण सडक हो, त्यसैले पहिलो प्राथमिकतामा राखेर यसमा स्मार्ट बत्ती जडान गर्‍यौं’, उहाँले भन्नुभयो,‘हाम्रो उद्देश्य सबै वडालाई उज्यालो बनाउनु हो।’ यो बत्ती बलेवाफत उठ्ने विद्युत महसुल धनगढी उपमहानगरपालिकाको कार्यालयले तिर्ने जनाइएको छ।

धनगढी उमपहानगरपालिकाको कार्यालयका अनुसार उज्यालो धनगढी कार्यक्रम अन्तर्गत पहिलो चरणमा २१२ पोलमा ४३२ वटा बत्ती जडान गरिएको छ। दुई करोड ७० लाख रुपियाँ खर्चेर सडक बत्ती जडान गरिएको हो। जसमा एक करोड ६१ लाख (६० प्रतिशत) धनगढी उपमहानगरपालिका र एक करोड सात लाख (४० प्रतिशत) रुपियाँ परियोजनाले व्यहोरेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले जानकारी दिनुभयो। पहिलो चरणमै ६५ लाख रुपियाँ लागतमा १० वटा हाइमास्ट लाइट पनि जडान गरिने उहाँले बताउनुभयो। ‘दोस्रो चरण अन्तर्गत मोहना–अत्तरिया छ लेन सडकको बाँकी रहेको क्षेत्र चौराहादेखि भन्सार र एयरपोर्ट गेटदेखि गोदावरी नगरपालिकाको सिमानासम्म स्मार्ट सडक बत्ती जडान गर्नेछौं’, उहाँले भन्नुयो।

यसअघि, माघ अन्तिमबाटै बत्ती बल्ने गरी काम अगाडि बढाइए पनि पहिले जडान गरिएको बत्ती कम वाटको भएपछि त्यो परिर्वतन गरिएको थियो। बत्ती परिवर्तन गर्दा ढिलाइ भएको वडा अध्यक्ष ऐर बताउनुहुन्छ। सेन्सर जडित स्मार्ट सडक बत्ती साँझ परेपछि आफै बल्ने र विहान घाम झुल्केपछि आफै निभ्ने जनाइएको छ। सूर्योदय उर्जा प्रालिले ठेक्का पाएर स्मार्ट सडक बत्ती जडान गरेको हो। स्मार्ट सडक बत्ती जडानले छ लेन सडकमा दुर्घटना न्यूनीकरणसहित शान्ति, सुरक्षा कायम गर्नमा सहयोग पुग्ने बताइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter