‘हाइड्रो भिलेज’ बन्यो नारच्याङ

ठाकुरप्रसाद आचार्य / म्याग्दी, चैत ६ गते । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका युवा टेकबहादुर पुनले दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाको सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा ५५ हजार रुपियाँको ५५० कित्ता सेयर खरिद गर्नुभयो । पुनजस्तै नारच्याङका अधिकांशले आईपीओमा लगानी गरेका थिए ।

दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाले स्थानीय प्रभावितका लागि प्राथमिक सेयर जारी गर्दा यहाँका अधिकांशले सानोतिनो लगानी गरे । प्रतिकित्ता एक सय रुपियाँमा खरिद गरेको सेयर गाउँलेले एक हजार दुई सय रुपियाँसम्ममा बिक्री गरे । सेयर बिक्री गरेर नारच्याङवासीले राम्रो आम्दानी गरे ।

“एक सय रुपियाँमा खरिद गरेको सेयर अहिले आठ सय पुगेको छ । दुई वर्षअघिको ५० हजारको लगानी बढेर अहिले चार लाख पुग्यो । अघिल्लो वर्षको मुनाफाबाट १० प्रतिशत नगद मुनाफा पनि पाएँ,” नारच्याङका युवा पुनले भन्नुभयो ।

मिस्त्री खोला जलविद्युत् आयोजनाले प्रभावित स्थानीयवासीका लागि बढीमा पाँच लाख रुपियाँको आईपीओमा लगानी गर्न आह्वान गरेको थियो । उनीहरूले आफ्नो क्षमताअनुसारको लगानी गरे । अन्नपूर्ण–४, नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले भन्नुभयो, “यहाँका ९५ प्रतिशतले आयोजनामा धेरैथोरै सेयर पाएका छन् । गाउँमा जलविद्युत् आयोजना भित्रिएपछि सानोतिनो लगानीको अवसर प्राप्त भएको छ ।’’

मिस्त्री खोला जलविद्युत् आयोजनाले स्थानीयलाई सेयरमा लगानी अवसर दिएको र त्यो सेयरबाट राम्रो आम्दानी भएकाले अहिले नारच्याङवासी सेयर लगानीमा आकर्षित भएका छन् । “एक दशकअघि दुर्गम भनिने नारच्याङ अहिले सुगमभन्दा कम छैन । जलविद्युत्मा लगानीका पैसा बचत गर्ने बानीको विकास भएको छ । गाउँघरमै लगानी गर्ने अवसर प्राप्त भएको छ,” स्थानीय प्रभा मावि व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले भन्नुभयो । राम्रो आम्दानी भएपछि अहिले आफूलगायत नारच्याङवासीले सेयरमा लगानी गर्न पैसा जम्मा गर्न थालेको टेकबहादुर पुनले बताउनुभयो ।

अहिले नारच्याङमा सानाठूला गरी नौवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना र पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नीलगिरि १ र २ गरी ११० मेगावाट र छ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

जलविद्युत्मा लगानी र रोजगारीले यहाँको जीवनशैलीमा परिवर्तन ल्याइदिएको छ । आर्थिक अवसर देखेर छिमेकी गाउँबाट बसाइँ सार्न थालेका छन् । यहाँबाट सहर बजारतिर बसाइँसराइ कमी आएको तेज गुरुङले बताउनुभयो । नारच्याङ गाउँमा लगानीको अवसर सिर्जना हुन थालेपछि छिमेकी पाउद्वार गाउँबाट बसाइँसराइ गरेर आएको फत्तबहादुर तिलिजाले बताउनुभयो । जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेपछि अहिले नारच्याङ ‘हाइड्रो भिलेज’ भनेर परिचित हुन थालेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter