आठ महिनामा विदेशिए सवा पाँच लाख

सीता शर्मा / काठमाडौँ, चैत ७ गते । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा केही कम हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

पछिल्लो समय साउदी अरब नेपालीको चौथो गन्तव्य देश बनेको छ । मलेसियामा आप्रवासी श्रमिकको सेवासुविधा बढेसँगै साउदी अरब कम रोजाइमा पर्ने गरेको र गएका पनि फर्किने क्रम बढेको महानिर्देशक आचार्यले बताउनुभयो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र पाँच हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

विभागका अनुसार माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको सङ्ख्या हो ।

फागुनमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रूपमा जाने नयाँ श्रमिकको सङ्ख्या पाँच हजार ५३६ जना छ । जीटुजीमार्फत दुई हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने २४ हजार ८५१ जना रहेको छ ।

मलेसिया पहिलो गन्तव्य

विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)मा पाँच लाख २४ हजार ९३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, ओमन)लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा जाने सङ्ख्या रहेको छ ।

विभागका अनुसार गत फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जना, यूएईका लागि नौ हजार ७९५ जना र साउदी अरबका लागि नौ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैगरी सो अवधिमा कुवेतका लागि दुई हजार ४६२ जना र दक्षिण कोरियाका लागि दुई हजार २२७ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा एक हजार ७० जना, जापानमा ८७१ जना, पोल्यान्डमा छ सय जना र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

अधिकांश दक्ष

फागुन महिनामा विदेशिने नेपाली युवा अधिकांश दक्ष योग्यताका छन् । विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ रहेका छन् । अदक्ष युवा १३ हजार ५८० जना विदेशिएका छन् ।

दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका पाँच हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । ‘प्रोफेसनल’ योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको विभागले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter