• Wednesday, May 21, 2025

भ्रष्टाचार नियन्त्रण नगरेसम्म समृद्धि प्राप्त गर्न सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ; पूर्व गृहमन्त्री खाण र उहाँका सचिव केसीलाई हिरासतमा राख्न अनुमति

काठमाडौं, वैशाख २७ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सरकार बनेदेखि यो विषयमा स्पष्ट रहेको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले सरकार बनेदेखि नै स्पष्ट भनेका छौं, हाम्रो सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध छ। सुशासन र भ्रष्टाचारको प्रभावकारी नियन्त्रण बिना समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन।”

उहाँले थप भन्नुभयो, “समृद्धिको पूर्वशर्त सुशासन हो भन्ने हाम्रो दृढ मान्यता हो। यसै आधारमा हामीले काम गर्दै गएका छौं। अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र यसको सन्दर्भमा आर्थिक रुपमा विभिन्न ढङ्गले ठगीको प्रक्रियाको सन्दर्भमा हामीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएका छौं। अनुसन्धानले माग गर्ने हदसम्म, आधार तयार गर्ने हदसम्म विभिन्न व्यक्ति थप अनुसन्धानका लागि तानिनुभएको छ।”

शीर्ष नेतासँगको भेटबारेको जिज्ञासामा उहाँले नेतासँग आफ्नो भेट तथा छलफल नभएको बताउनुभयो। तर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग केही दिन अघि भएको टेलिफोन वार्ता अनुरुप ओली निवासमा भेट हुँदा अहिलेको विषय सामान्य भ्रष्टाचारको केश मात्र नभई राष्ट्रको अपमान गर्ने, स्वाभिमान गिराउने कुकर्म भएको निष्कर्श निस्केको उहाँको भनाइ छ।

“यो सामान्य भ्रष्टाचारको केश मात्रै होइन, यो राष्ट्रको अपमान गर्ने, राष्ट्रको स्वाभिमान गिराउने कुकर्म पनि हो। त्यसकारणले यसको अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्छ र यसमा जोसुकै भए पनि कारबाही गर्नुपर्छ भनेर सहमति भयो। मैले त्यसमा सहयोगको माग गरेँ, आँड, भरोसा माग गरेँ। म पुरै सहयोग गर्छु निर्दोष नफस्नेगरी, दोषीलाई नछोड्नेगरी अगाडि बढ्नुस् भन्नुभयो”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो।

यो विषयमा मंगलबारको बालुवाटार शीर्ष नेताका बीच छलफल भएको उहाँले जानकारी दिनुभयो। “निर्दोष फस्दैन, फसाउन हुँदैन। कुनै स्वार्थको आधारमा काम हुँदैन। अनुसन्धानमा ‘स्ट्याण्डिङ अर्डर दिएको छु। प्रहरी निष्पक्ष अनुसन्धानको क्रममा लागेको छ, जो अनुसन्धानको क्रममा देखाउँछ, उनीहरुलाई प्रहरीले छोड्दैन”, उहाँले भन्नुभयो।

पूर्व गृहमन्त्री खाण र उहाँका सचिव केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौंको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उहाँसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। हिजो पक्राउ परेकाको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज पक्राउ परेका खाण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेश गरिएको थियो। अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ।

उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यसअघि हिजो मङ्गलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ। सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ।

उक्त घटनामा मुछिएका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ। उहाँलाई एमालेले आजै सचिवबाट निलम्बन पनि गरिसकेको छ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्। रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter