• Friday, May 02, 2025

सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न जोड

अविनाश चौधरी / धनगढी, वैशाख ३० गते। वंशाणुगत रोग सिकलसेल एनिमिया परीक्षण गरेरमात्रै थारु समुदायका युवायुवतीलाई विवाह गर्न सुझाव दिइएको छ।

यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको यही एकमात्र उपाय भएका कारणले सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न सुझाइएको हो। रोग रोकथामका ल लागि सिकलसेल रोग नभएका बीचमात्रै विवाह हुन आवश्यक रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले बताउनुभयो।

“आमाबुबा सिकलसेलको रोगी भएमा उनीहरूबाट जन्मिने बच्चालाई जिनमार्फत यो रोग सर्ने गर्दछ”, उहाँले भन्नुभयो,“जन्मिने बच्चा सिकलसेलको रोगी हुने गरेकाले परीक्षण गरेरमात्रै विवाह गर्नु पर्दछ।” हमार फाउण्डेसनको आयोजनामा धनगढीस्थित बातचित घरमा आयोजित सिकलसेल सम्बन्धी कार्यक्रममा उहाँले थारु समुदायका हरेक व्यक्तिले सिकलसेल परीक्षण गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

पछिल्लो समय स्थानीय तहसहित विभिन्न निकायले निःशुल्क शिविर आयोजना गरेर सिकलसेल थाहा पाउनका लागि ‘सिक्लिङ्ग टेस्ट’ गर्ने गरेका छन्। सिकलसेल एनिमिया रोग रहेको पुष्टि गर्न भने सेती प्रादेशिक अस्पतालमामात्रै परीक्षणको व्यवस्था रहेको छ। पहिले यो सेवा निःशुल्क दिइए पनि पछिल्लो समय एक हजार रुपियाँ शुल्क लिने गरिएको छ।

सिकलसेल रोग भएका अभिभावकबाट जन्मिने बच्चालाई यो रोग सर्ने भएकाले सिकलसेल रोग लागेका व्यक्तिले विवाह गर्न नहुने वा गरिहालेमा बच्चा जन्माउन नहुने बताइएको छ। यसैगरी, सिकलसेल रोगीहरूले थप स्वास्थ्य समस्या बढ्न नदिनका लागि पोषिलो खानपानमा ध्यान दिनु पर्ने, नियमित रगत जाँच गराउनु पर्ने औँल्याइएको छ। सिकलसेल जनस्वास्थ्य समस्याको रूपमा देखा परेपछि यो रोगका बिरामीलाई नेपाल सरकारले एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिदैं आएको छ।

सरकारले निःशुल्क उपचारका लागि एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिएपछि बिरामीलाई धेरै राहत भएको डा. चौधरीले बताउनुभयो। यद्यपि, कतिपय बिरामीको उपचारको लागि यो रकम पर्याप्त नरहेको उहाँको भनाइ छ।

“केही बिरामीहरू हप्तापिच्छे अस्पताल भर्ना हुनुपर्ने, नियमित रगत जाँचदेखि लिएर अन्य उपचार गराउनु पर्ने हुन्छ”, उहाँले थप्नुभयो,“त्यस्तो अवस्थामा उनीहरूको उपचारका लागि यो रकम अपुग नै हुन्छ।”

सिकलसेल रोगलाई निको नै पार्ने अहिलेसम्म कुनै पनि औषधोपचार पत्ता लागिसकेको छैन। तर, बोनम्यारो प्रत्यारोपण गरेर समस्याबाट छुटकारा पाउन सकिने जनाइएको छ। यसको लागि नेपालमा पाँचदेखि आठ लाख रुपियाँसम्म खर्च हुने गरेको डा. चौधरीले बताउनुभयो। “बोनम्यारो प्रत्यारोपण सबैभन्दा सस्तोमा नेपालमै हुन्छ”, उहाँले भन्नुभयो,“अन्य देशमा यो निकै खर्चिलो छ।” बोनम्यारो प्रत्यारोपण गर्नेलाई सरकारले एक लाख रुपियाँ उपचार सहुलियत दिने गरेको उहाँले उल्लेख गर्नुभयो।

सिकलसेल बिरामी पटक–पटक बिरामी भइरहने, उपचार गराउँदा पनि निको नहुने कारणले उनीहरूमा मानसिक समस्या पनि बढ्ने गरेको जनाइएको छ। फलस्वरूप, बिरामीले आत्महत्या गर्ने गरेको सिकलसेल नेपाल कैलालीका अध्यक्ष सुरेश कठरियाले बताउनुभयो।

उहाँका अनुसार कैलालीमा एक हजार जति सिकलसेल एनिमियाका बिरामीहरू रहेका छन्। जसमध्ये करिब छ सय जनाले नेपाल सरकारले दिने एक लाख रुपियाँ सहुलियतमा सूचीकृत स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्।

जिल्लाको थारु बहुल कैलारी गाउँपालिकाले सिकलसेल बिरामी पत्ता लगाउनका लागि हरेक वर्ष स्क्रिनिङ टेस्ट गर्दै आएको जनाइएको छ। यसैगरी, बिरामीलाई गाडी भाडा खर्च र निःशुल्क रगत पनि उपलब्ध गराउने गरेको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताउनुभयो। कार्यक्रममा १०१ पटक रगतदान गर्ने रक्तदाता दीपक उपाध्याय नेपाललाई सम्मान गरिएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter