रुसले माग्याे रेलवेदेखि छात्रवृत्तिलगायत १३ परियोजनाकाे प्रस्ताव

काठमाडौँ, जेठ ३ गते । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो ।

साे प्रस्तावमा रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई राजधानी मस्कोमा अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउने सम्मका छन् ।

अध्यक्ष तिमिल्सिनाले वैशाख ६ गते देखि ११ गतेसम्म गर्नुभएको रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेड्रल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोकाबीचमा भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए ।

नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई मे ४ मा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरु अघि बढाउन आग्रह गरेको छ ।

रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौँमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीयस्थल पोखरादेखि नजिकका पर्यटकीयस्थलहरुलाई जोड्ने पोखरा रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ । पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा रिडी सडकको लागत झण्डै ४ अर्ब रूपियाँ रहेको छ ।

अध्यक्ष तिमिल्सिनाको प्रस्ताव अनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखिएको छ । यो सडक पोखराको पामेबाट पर्वतका ६ वटा पालिका हुँदै गुल्मीको रिडी सम्म पुग्ने साइकल लेनसहित दोहोरो निर्माण गरिनेछ ।

यसैगरी, काठमाडाैँ र पोखरामा दुईवटा बालबालिकाको क्यान्सरसम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चाँसो देखाएको छ । उक्त अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टरहरू उपलब्ध गराउने र सो सम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ ।

अहिले नेपालबाट वार्षिक १८ जना विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इन्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक १५० देखि २०० सय विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराउन खोजेको छ ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको छलफलमा नेपालमा जिटुजीमार्फत् रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चाँसो देखाएको थियो ।

रुसले रासायनिक मल र गहुँबाहेक पेट्रोलियम पर्दाथ पनि प्रत्यक्ष रुपमा उपलब्ध गराउने प्रस्ताव मागेको छ । यस्तै, रुसले नेपालसँग मस्कोबाट सिधा हवाई उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर विक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधानहरुको विक्री गर्न पनि चाँसो राखेको छ ।

अध्यक्ष तिमिल्सिनाको निम्तो स्विकार्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिट्टै नेपालको भ्रमण गर्न प्रस्ताव पनि पठाउनुभएको छ ।

रुसी प्रस्तावका बारेमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. वेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शिक्षा मन्त्री अशोक राई, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गर्नुभएको छ । सरकारकातर्फबाट सबै मन्त्रालयले प्रस्ताव तयार गरेर पठाउने काम समेत शुरु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter