• Tuesday, May 20, 2025

हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री

पोखरा, असार १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा राख्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घीयताको मर्म र यसको दीर्घकालीन महत्त्व हामीले बुझेनौँ भने यसको फाइदा सङ्घीयताका विरोधीहरूले लिनेछन् । हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौं, जनताले त्यति नै मात्रामा सङ्घीयताबाट लाभ लिन सक्छन् । सङ्घीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरूरी छ । हाम्रो जोड त्यता हुन जरूरी छ ।’’

प्रधानमन्त्रीले धेरै लामो सङ्घर्ष र पहलपछि देश सङ्घीय गणतन्त्रमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो कुनै भावावेशमा गरिएको निर्णय होइन, सुविचारित निष्कर्षका कारण नै हामी अहिले सङ्घीय प्रणालीमा छौँ। यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै हो, त्यसमा नचुकौँ ।’’

प्रधानमन्त्रीले भन्नुभयो, “कतिपय शक्तिहरू यस (सङ्घीय गणतन्त्र) लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।’’

“राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्दैनन् । लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्दछन् । यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठीक ढङ्गले लिन जरूरी छ ।’’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्छौँ । अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तरक्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।’’

“सङ्घीयता विरोधी शक्तिलाई हामीले व्यवहारबाट जवाफ दिन जरूरी छ । त्यसका लागि हाम्रो सोच र कार्यशैली बदल्नुपर्छ । हामी बदलिएपछि मात्रै लोकतान्त्रिक प्रणाली बलियो हुन्छ । सबै तहका सरकारहरू त्यसरी लागौँ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “फिल्डका समस्या राम्रोसँग आएका छन्, यसले हामीलाई राम्रो फिडब्याक दिएको छ । यसमा टेकेर अघि बढौँ ।’’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ, विपक्षी दलको तर्फबाट पूर्वमन्त्री विष्णु पौडेल, प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका सचिवहरू, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासंघ र गाउँपालिका महासङ्घका प्रमुखहरूलगायत उपस्थित हुनुहुन्छ ।

बैठकले सङ्घीयताको प्रभावकारी कार्यान्वयनसम्बन्धी विविध प्रस्तावहरूमाथि गहन छलफल गरी आवश्यक निर्णय गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter