जापान-नेपाल विकास मञ्चको स्थापना

काठमाडौँ, भदौ १९ गते । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।

जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थसहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा हिरोयुकी फुकुयामा, डा. तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहनुभएको छ । जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहनुभएको छ ।

नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण प्रवर्धनमा सार्थक योगदान पु र्‍याउने उद्देश्यले मञ्चको स्थापना भएको हो ।

मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारी स्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताउनुभएको थियो । जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उहाँले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा मञ्च एक कोशेढुङ्गा सावित हुने बताउनुभएको थियो ।

समारोहमा राजदूत डा. सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभएको थियो । नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो ।

नेपाललाई वैदेशिक लगानीको एक उच्चतम र आकर्षक गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण निर्माण गर्न प्रयत्नशील रहेको राजदूत डा सुवेदीको भनाई थियो ।

समारोहमा मञ्चका नवनियुक्त अध्यक्ष तथा पूर्व अर्थसहायक मन्त्री मोतोयुकी ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवर्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताउनुभएको थियो ।

जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाईका) र जापान व्यापार संगठन (जेट्रो)का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा संलग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter