मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन

काठमाडौँ, भदौ २७ गते । नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलले अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन दर्ता गरेका हुन् । विधेयकको संशोधनको समयसीमामा कुल ५५ संशोधन दर्ता भएका छन् ।

सरकारले एकै पटक ७९ मौजुदा कानुनको संशोधन तथा दुई वटा ऐन खारेजीको प्रस्तावसहित केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको थियो । प्राप्त संशोधन प्रमाणीकरणपछि अब प्रतिनिधि सभामा पेस हुने छन् । सदनले उक्त संशोधनको छलफल पूर्ण सदन वा समितिमा पठाएर गर्न सक्ने छ ।

प्रस्तावित विधेयकको दफा ६४ मा सरकार र राजनीतिक समूहबिच भएको सहमति अनुसार मुद्दा फिर्ता लिने व्यवस्था गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गरेर उक्त व्यवस्था थप गर्न खोजिएको हो । विधेयकको सैद्धान्तिक छलफलका क्रममा अधिकांश सांसदले उक्त व्यवस्थाको विरोध गरेका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिक सहमतिमा उक्त व्यवस्थाबारे निर्णय हुने जानकारी प्रतिनिधि सभामा दिनुभएको थियो ।

दफा ६४ मा २७ वटा संशोधन दर्ता भएका छन् । जसमा २६ संशोधनमा उक्त दफा पूरै हटाउने प्रस्ताव छ । दुई संशोधनमा भने परिमार्जनको प्रस्ताव गरिएको छ । एमालेका जुलीकुमारी महतोले अदालतको अनुमति लिएर मुद्दा फिर्ताको व्यवस्था गर्नुपर्ने भनी संशोधन दर्ता गर्नुभएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापाले जघन्य अपराध, राजद्रोह र राष्ट्रहित विपरीतका बाहेक अन्य मुद्दा फिर्ता लिन सकिने प्रस्ताव गर्नुभएको छ । दुईबाहेक अन्य सबै संशोधन उक्त व्यवस्था हटाउनेमा छ ।

एमालेका दामोदर पौडेल, पदम गिरी, रघुजी पन्त, महेश बर्तौला, विद्या भट्टराईलगायतले उक्त व्यवस्था हटाउन संशोधन दर्ता गर्नुभएको छ । त्यस्तै कांग्रेसका गगन थापा, प्रदीप पौडेल, प्रतिमा गौतम, जीवन परियार, सीता मिजारलगायतको संशोधन पनि उक्त व्यवस्था हटाउनेमा छ । पौडेलबाहेकका सांसदले संयुक्त संशोधन दर्ता गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुलीलगायतले पनि प्रस्तावित दफा ६४ पूरै हटाउन संशोधन दर्ता गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पनि उक्त व्यवस्था पूरै हटाउन संशोधन दर्ता गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter