• Saturday, May 03, 2025

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी; राजधानीका विभिन्न स्थानमा छठ पूजास्थल निर्माण गरिँदै

काठमाडौं, कात्तिक ३० गते । सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।

सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ ।

मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ ।

यद्यपि व्रत विधानले कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा–अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउँछन् । आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अर्घ्य दिइन्छ । यो अर्घ्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ ।

सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ ।

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ ।

यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ ।

खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएको उपप्राध्यापक मुक्ति बताउँछन् ।\

एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झा बताउँछन् ।

यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिँदै आइएको महोत्तरीकै बर्दिबास–२ का बासिन्दा कर्मकाण्ड र मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन् । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिँकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षकघाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अघ्र्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व मिथिलाको साझा पर्व बनेको छ । अब मुलुकको राजधानीसहित धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको मैथिल गर्वसाथ बताउँछन् ।

राजधानीका विभिन्न स्थानमा छठ पूजास्थल निर्माण गरिँदै

राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमति, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठामाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । शनिबारसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ति एवं छठी माताको मूर्ति राख्ने काम जारी रहेको उनले बताए । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरू हुँदैछ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । यसअघि तराई÷मधेसका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । तराई÷मधेसका साथै पहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter