ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

काठमाडौँ, फागुन १९ गते । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी आवश्यक रहेको जिकिर गर्दै प्राधिकरणले साझेदारहरूलाई सहायता विस्तारका लागि आग्रह गरेको हो ।

नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्विट्जरल्यान्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैङ्क र एसियाली विकास बैङ्कलाई नेपालको विद्युत्, उत्पादन, प्रसारण र वितरणको विस्तार र सुधारका लागि प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।

शुव्रmबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३, सूर्यबस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको अनुगमन भ्रमण गराउने क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो आग्रह गर्नुभएको हो । ‘देशभित्र विद्युत्को खपत बढाउने हाम्रो प्राथमिकता हो, यहाँ खपत गरी बढी भएको विद्युत् मात्र छिमेकी देशलाई बिक्री गर्ने हो,” अनुगमनका क्रममा घिसिङले भन्नुभयो, “यसका लागि पूर्वाधार संरचना विस्तारका लागि ठुलो लगानी आवश्यक छ, लगानी बढाउन विकास साझेदारहरूलाई आग्रह गर्दछु ।”

अनुगमन टोलीमा स्विस राजदूत डानियल मिउली, विश्व बैङ्कका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्बोस, एसियाली विकास बैङ्क (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरू हुनुहुन्थ्यो । सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको हो ।

नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धिहरूको प्रशंसा गर्दै दातृ निकायले थप लगानी बढाउने प्रतिबद्धता जनाएका छन् । नेपालमा जलविद्युत उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बङ्गलादेशसँगको विद्युत्का विषयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी छ वर्षमा १३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताउनुभयो ।

निर्देशक फारिस हदाद जेर्बोसले बैङ्कको नेतृत्वमा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताउनुभयो । एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षदेखि साझेदारी गरिरहेको उल्लेख गर्दै बैङ्कको नेतृत्वमा ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब दुई हजार मेगावाट विद्युत् भार बोक्न सक्ने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण हुँदै छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter