मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीको शपथ

काठमाडौं, फागुन २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले यसअघि शपथ लिइसक्नुभएको छ।

यसैगरी, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिइसक्नुभएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि शपथ लिइसक्नुभएको छ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गर्नुभएको हो। नवनियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।

२० सदस्यीय प्रचण्ड मन्त्रिपरिषद् : कुन पार्टीबाट को मन्त्री ?

काठमाडौं, फागुन २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । नयाँ राजनीतिक समीकरण भएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सरकारमा सहभागी भएका छन् । सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्‍मा चार जना महिला मन्त्री बन्नुभएको छ ।

एमालेबाट दुई, माओवादी र रास्वपा बाट एक-एक जना महिलाले मन्त्री बन्ने अवसर पाउनुभएको हो । बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ । तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ । एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ । माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ । रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा (एस) ले भने दुई मन्‍त्रालय पाएको छ ।

माओवादी केन्द्रका पाँच मन्त्री

नारायणकाजी श्रेष्ठ : उपप्रधान तथा परराष्ट्र

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुपेटीमाया र मेघनारायण श्रेष्ठका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०१७ सालमा गोरखामा भएको हो । पटक-पटक उपप्रधानमन्त्री बन्नुभएका श्रेष्ठले जनप्रशासनमा स्नात्तकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ ।

२०३१ सालदेखि उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीतिका सुरुवाती दिनमै २०३३, ०३६ र ०४२ मा उहाँ जेल पर्नुभयो । जेलबाट छुटेपछि २०४२ मा उहाँ नेकपा (चौम) केन्द्रीय सदस्य बन्नुभयो । २०५१ सालमा नेकपा (एकता केन्द्र) को महासचिव बन्नुभयो । सशस्त्र द्वन्द्वबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उहाँ २०६५ सालमा नेकपा (माओवादी) को उपाध्यक्ष बन्नुभयो । २०६६ सालमा माओवादी संसदीय दलको उपनेता, नेकपा सचिवालय सदस्य उहाँ २०६८ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभएको हो । उहाँसँग लामो समय शिक्षण गरेको अनुभव छ । उहाँ गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका सदस्य निर्वाचित हुनुभएको हो । पछिल्लो समय उहाँ उपप्रधान तथा गृहमन्त्रीको जिम्मेरी सम्हाल्नु भएको थियो ।

वर्षमान पुन : अर्थ

वर्षमान पुन तिर्थमाली र इर्खरामका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०२८ सालमा रोल्पामा भएको हो । कानुन विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका पुन २०७९ सालको संघीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

२०५३ सालमा नेकपा माओवादी (रोल्पा, प्यूठान) क्षेत्रको सचिव भएर काम गर्नुभएका पुन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका डेपुटी कमाण्डर हुनुहुन्छ । उहाँ २०५५ सालमा भूमिगत समयमै माओवादीको केन्द्रीय सदस्य बन्नुभएका उहाँ २०५९ सालमा पोलिटब्यूरो सदस्य बन्नुभयो ।

२०६३ सालमा सचिवालय सदस्य, २०६४ सालमा संविधान सभा सदस्य बन्नुभएका उहाँ पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बन्नुभयो । २०६८ सालमा अर्थमन्त्री बनेर काम गर्नुभएको अनुभवसमेत उहाँसँग छ । २०७१ सालमा एकीकृत नेकपा (माओवादी)को सचिव बन्नुभएका पुन २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्नुभयो । उहाँ २०७८ सालमा नेकपा (माओवादी केन्द्र) को उपमहासचिव बन्नुभएको हो ।

शक्ति बस्नेत : ऊर्जा

शक्तिबहादुर बस्नेत धर्मकुमारी र डण्डवीरका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३६ सालमा जाजरकोटमा भएको हो । मानविकी तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका बस्नेतसँग विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ । उहाँ जाजरकोट निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँ निवर्तमान ऊर्जा मन्त्रीसमेत हुनुहुन्छ ।

उहाँ २०४२ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला कमिटी सदस्य, नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) को जाजरकोट जिल्ला सेक्रेटरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षेत्रीय ब्यूरो सदस्य, केन्द्रीय समिति सदस्य, पोलिटब्यूरो सदस्य, स्थायी समिति सदस्य बनिसक्नुभएको छ । उहाँले माओवादी पश्चिम कमान्ड इन्चार्ज, कर्णाली प्रदेश इन्चार्ज बनेर काम गर्नुभएको छ । १२ वर्षसम्म भूमिगत जीवन बिताउनु भएका उहाँले १ महिना हिरासतमा बसेको अनुभव छ । २०७० मा संविधान सभा सदस्य उहाँ पाँच पटक मन्त्री बनिसक्नु भएको छ । उहाँ २०७४ र २०७९ सालको निर्वाचनमा उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधि

माओवादी केन्द्रकी नेत्री रेखा शर्मा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ । मन्त्रालयमा बिदाइ कार्यक्रममा सहभागी हुनुभएकै समयमा बुधबार नयाँ मन्त्रीको रुपमा शपथका लागि निम्तो पुगेको थियो । उहाँ पार्वती पौडेल र गिरीराज शर्माका सुपुत्री हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा दाङमा भएको हो । २०४३ सालबाट राजनीतिमा आवद्ध उहाँले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ ।

दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित शर्मा माओवादी केन्द्रको प्रभावशाली नेत्री हुनुहुन्छ । उहाँ विद्यार्थी र महिला संगठन हुँदै राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ तत्कालीन ने.क.पा हुँदै कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँले २०५३ देखि ०५८ सालसम्म अ.ने.म संघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष भएर काम गर्नुभयो । उहाँ २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य बन्नुभएको हो । २०७० सालमा संविधान सभा सदस्य भएर उहाँले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँ २०७४ र २०७९ मा प्रतिनिधि सभाको सदस्य निर्वाचित हुनुभएको हो । उहाँसँग विभिन्न मन्त्रालयमा काम गरेको अनुभव छ ।

हितबहादुर तामाङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन

नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङ बुवा माइते तामाङ र आमा श्रीमाया तामाङका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०२० जेठ १५ गते नुवाकोटमा भएको हो । २०३७ सालदेखि राजनीतिमा सक्रिय उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो ।

२०४९ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला सचिव बन्नुभएका उहाँले २०४७ सालमा ने.क.पा.को चौथो महाधिवेशनबाट सदस्यता लिनुभयो । २०५२ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव बन्नुभएका तामाङ २०५३ सालमा बागमती क्षेत्रीय ब्युरो सदस्य बन्नुभयो ।

२०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका उहाँ २०६३ माघ १ मा अन्तरिम व्यवस्थापिका सदस्य बन्नुभयो । तामाङसँग यसअघि २०६६ सालमा युवा तथा खेलकुद मन्त्री बनेको अनुभव छ । २०७४ मा प्रतिनिधि सभा सदस्य बन्नुभएका उहाँ २०७९ सालमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य बन्नुभयो । एसएलसीसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएका उहाँसँग शिक्षा, भौतिक पूर्वाधार र पर्यटन क्षेत्र सम्बन्धी विशेष ज्ञान रहेको छ ।

एमालेका आठ मन्‍त्री

रघुवीर महासेठ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात

प्रचण्ड नेतृत्वको सरकारमा रघुवीर महासेठले एमालेको नेतृत्व गर्नुभएको छ । मायावती र मखन महासेठका सुपुत्र रघुवीरको जन्म धनुषा २०१८ सालमा भएको हो । सिभिल इन्जिनियरिङ अध्ययन गर्नुभएका महासेठ यस अघिसमेत पटक-पटक मन्त्री बनिसक्नु भएको छ । उहाँ धनुषा निर्वाचन क्षेत्र ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ । उहाँ २०३३ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता लिएर उहाँले राजनीतिक दलमा पहिलो पटक आवद्ध जनाउनुभएको हो ।

२०३७ सालमा उहाँ अनेरास्ववियु प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्षमा निर्वाचित हुनुभयो । २०५४ सालमा उहाँ नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य बन्नुभयो । धनुषा जिल्लाबाट तीन पटक निर्वाचित महासेठ नेकपा एमालेको केन्द्रीय सचिव हुनुहुन्छ । उहाँसँग विभिन्न राजनीतिक आन्दोलनमा १३ महिना थुना र जेलमा बसेको अनुभवसमेत छ । उहाँसँग उपप्रधान, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएर काम गरेको अनुभव छ ।

पदम गिरी : कानुन, न्याय तथा संसदीय मामिला

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी बुवा बले गिरी र माता सीताकुमारी गिरीका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३३ साल फागुन २८ गते पर्वतमा भएको हो । २०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट उहाँ संगठित हुनुभएको हो । २०७४ सालमा उहाँ पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित हुनुभएको हो ।

२०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा उहाँ स्ववियु सदस्य बन्नुभयो । त्यसपछि उहाँले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्नुभयो । क्याम्पसको राजनीति हुँदै उहाँ नेकपा जिल्ला कमिटी पर्वतको सदस्य, जिल्ला कमिटी अध्यक्ष बन्नुभयो । २०७४ सालको निर्वाचनमा उहाँ पहिलो पटक संघीय संसदमा निर्वाचित हुनुभयो । २०७९ सालको निर्वाचनमा उहाँ पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो । उहाँसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ । स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ । पार्टी केन्द्रीय सदस्य गिरी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतककाे जिम्मेवारीमा हुनुहुन्थ्याे ।

राजेन्द्रकुमार राई : खानेपानी

नेकपा (एमाले) नेता राजेन्द्रकुमार राई धनकुटा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । मोतीमाया र तेजबहादुर राईका सुपुत्र राजेन्द्रको जन्म २०२१ सालमा धनकुटामा भएको हो । प्रमाणपत्र तह (कक्षा १२) सम्म अध्ययन गर्नुभएका राईसँग यसअघिसमेत मन्त्री भएको अनुभव छ । १४ वर्षको उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ विद्यार्थी संगठन, युवा संघ हुँदै जिल्ला राजनीतिमा सक्रिय बन्नुभएको हो । उहाँले धनकुटा जिल्ला अध्यक्षको जिम्मेवारी १४ वर्षसम्म सम्हाल्नुभयो ।

२०५४ सालमा उहाँ जिविस धनकुटाको उपसभापति बन्नुभयो । राजनीतिसँगै सामाजिक न्यायको क्षेत्रमा सक्रिय उहाँ २०६४ सालमा धनकुटाको स्थानीय शान्ति समिति संयोजक बन्नुभयो । उहाँसँग राष्ट्रिय कफी तथा चिया बोर्डको उपाध्यक्ष भएर काम गरेको अनुभवसमेत छ । २०७४ सालमा उहाँ पहिलो पटक धनकुटाबाट सांसद निर्वाचित हुनुभयो । उहाँसँग भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री भएर काम गरेको अनुभव रहेको छ ।

हरिप्रसाद उप्रेती : रक्षा

एमाले नेता हरिप्रसाद उप्रेती भोजकुमारी र गोविन्दप्रसादका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०२४ सालमा सर्लाहीको हरिवनमा भएको हो । व्यवस्थापनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका उप्रेती सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । २०३६ सालदेखि उहाँ निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ । संविधान सभाका सदस्य उहाँ पहिलो पटक मन्त्री बन्नुभएको हो । उहाँसँग वातावरण समितिमा रहेर काम गरेको अनुभव छ ।

बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

एमाले नेता बलराम अधिकारी सरस्वती र रुद्रनाथका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म कपिलवस्तु जिल्लामा २०१७ सालमा भएको हो । प्रमाणपत्र तह (१२ कक्षा) सम्मको अध्ययन गर्नुभएका उहाँसँग लामो समय शिक्षण पेसामा रहेर काम गरेको अनुभव छ । २०३३ सालबाट उहाँ विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा सक्रिय हुनुभएको हो ।

२०३४ सालमा पहिलो पटक पार्टीमा संगठित हुनुभयो । २०४२ सालमा कपिलवस्तु जिल्ला कमिटि सदस्य बन्नुभएका उहाँ एमाले पार्टीको जिल्ला प्रमुख बनेर काम गर्नुभयो । २०७० देखि २०७७ सम्म प्रदेश कमिटी, २०७८ देखि केन्द्रीय सदस्य बन्नुभएका उहाँले कपिलवस्तु इन्चार्ज भएर काम गर्नुभयो । २०५६, २०६४ मा उहाँ कपिलवस्तुबाट सांसद उम्मेदवार बन्नुभयो । २०७० सालमा उहाँ संविधान सभा सदस्य निर्वाचित हुनुभयो । उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा कपिलवस्तु १ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक

एमाले नेत्री भगवती चौधरी लिटियादेवी थरुनी र विरणलाल चौधरीका सुपुत्री हुनुहुन्छ । उहाँको जन्म २०२८ सालमा सुनसरीको दुहवीमा भएको हो । मानविकी, व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँ सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

२०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएर उहाँले राजनीति सुरु गर्नुभएको हो । २०५८ सालमा सदस्यता नवीकरण गर्दै उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । २०६४ को संविधान सभा सदस्य उहाँ २०६७ सालमा वन तथा भूसंरक्षण राज्यमन्त्री बन्नुभयो । २०७० सालमा अञ्चल समन्वय कमिटी सदस्य उहाँ २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । उहाँ २०७९ को संघीय निर्वाचनमा सुनसरी ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँसँग २० वर्षसम्म सामाजिक अभियान्ता बनेर काम गरेको अनुभव छ ।

दामोदर भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति

एमाले नेता दामोदर भण्डारी कमलादेवी र उदयसिंह भण्डारीका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३० सालमा बैतडीमा भएको हो । उहाँ बैतडी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । २०४६ सालको जनअन्दोलनबाट उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो । २०४९ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सदस्य बन्नुभयो । २०५४ सालमा पार्टी बैतडी जिल्ला उपसचिव बन्नुभयो । उहाँसँग लामो समय बैतडी जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ । उहाँ अहिले नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ ।

ज्वालाकुमारी साह – कृषि तथा पशुपन्छी विकास

एमाले नेत्री ज्वालाकुमारी साह श्रीपतीदेवी कनौइन र खेदु साह कानुका सुपुत्री हुनुहुन्छ । उहाँको जन्म बारा जिल्लाको जितपुर सिमरामा २०३८ सालमा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका उहाँ बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचत प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

२०५४ सालदेखि उहाँको राजनीतिक यात्रा सुरु भएको हो । २०५५ सालमा बारा जिल्ला कोषाध्यक्ष, २०५६ सालमा महिला जिल्ला अध्यक्ष बन्नुभयो । २०५८ सालमा माओवादी जिल्ला सदस्य, २०६१ मा जनपरिषद् केन्द्रीय सदस्य बन्नुभयो । उहाँ २०६४ को संविधान सभा सदस्य बन्नुभयो भने २०६७ सालमा भूमिसुधार र पर्यटन राज्यमन्त्री बन्नुभयो । उहाँ २०७४ मा तत्कालीन प्रदेश नम्बर २ (मधेश) प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित उहाँ प्रदेश सभा सदस्य त्याग गर्दै एमाले प्रवेश गर्नुभएको हो । २०७७ र २०७९ सालमा उहाँ कृषि तथा पशुपन्छी विकासमन्त्री बनेर काम गरेको अनुभव संगाल्नुभएको छ ।

रास्वपाबाट चार मन्‍त्री

रवि लामिछाने : उपप्रधान तथा गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नन्दकुमारी र लालचन्द्र लामिछानेका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३२ सालमा काठमाडौँमा भएको हो । पत्रकारिता क्षेत्रबाट चर्चा बटुलेपछि उहाँ २०७९ सालमा राजनीतिमा आवद्ध हुनुभएको हो । प्रमाणपत्र तह (कक्षा १२) अध्ययन गर्नुभएका लामिछानेसँग विभिन्न सञ्चार गृहको सञ्चालन, स्वदेश तथा विदेशमा विभिन्न संस्थाको व्यवस्थापन सम्बन्धी अनुभव छ । अमेरिकाका विभिन्न शैक्षिक संस्थामा श्रव्य दृश्य अध्ययन गर्नुभएको छ ।

१४ वर्ष अमेरिकामा बसोवास गरेर नेपाल फर्किएपछि उहाँले सबैभन्दा लामो टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व कीर्तिमान बनाउनुभएको थियो । उहाँले सिधा कुरा जनतासँग कार्यक्रममार्फत् जनसरोकारका विषयलाई उठाउनुभएपछि आम पाठकमाझ परिचित हुनुभयो । उहाँले ग्यालेक्सी फोके टेलिभिजनको प्रबन्ध निर्देशक भएर काम गर्नुभएको थियो । यसअघि उहाँ प्रचण्ड नेतृत्वकै सरकारमा एक महिना उपप्रधान तथा गृहमन्त्री बनिसक्नु भएको छ । नागरिकता प्रकरणमा अदालतले उहाँको विपक्षमा फैसला गरेपछि गृहमन्त्री पद गुमाउनु भएको थियो । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उहाँ २०८० वैशाखमा भएको उपचुनावमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । नागरिकता प्रकरणमा उहाँको उपप्रधान तथा गृहमन्त्रीसहित प्रतिनिधिसभा सदस्य पदसमेत गुमेपछि चितवन २ मा उपचुनाव भएको थियो ।

डोलप्रसाद अर्याल : श्रम रोजगार तथा सामाजिक सुरक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोरप्रसाद अर्याल बुवा यामराज अर्याल र आमा गुणमाया अर्यालको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३१ साल भदौ ६ गते धादिङमा भएको हो । राजनीतिमा सक्रिय भएको छोटो अनुभव भए पनि उहाँसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मन्त्रिपरिषदमा रहेर काम गरेको अनुभव छ । उहाँले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेर काम गरिसक्नु भएको छ । उहाँसँग पर्यटन र विप्रेषण क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभव छ । उहाँले २०७९ माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

विराजभक्त श्रेष्ठ : युवा तथा खेलकुद

रास्वपा नेता विराजभक्त श्रेष्ठ सजनी र विकास श्रेष्ठका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०३८ सालमा काठमाडौँको इन्द्रचोकमा भएको हो । वाणिज्य तथा व्यापार प्रशासन विषयमा स्नातक गर्नुभएका श्रेष्ठ २०७९ को संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँसँग प्रदेश सभा सदस्य भएर काम गरेको अनुभवसमेत छ ।

बागमती प्रदेशमा विवेकशील साझा पार्टीको तर्फबाट समानुपातिकतर्फबाट सांसद निर्वाचत भएर काम गर्नुभएको हो । उहाँले तत्कालीन विवेकशील नेपाली दलमा आवद्ध भएर काठमाडौँ महानगर कमिटीको अध्यक्षको रुपमा काम गर्नुभयो । उहाँसँग पर्यटन, वातावरण तथा दिगो विकास, अस्पताल व्यवस्थापन, सामाजिक र सांस्कृतिक क्षेत्रमा काम गरेको अनुभव छ ।

सुमना श्रेष्ठ : शिक्षा, विज्ञान तथा प्रविधि

सुमना श्रेष्ठ मिनादेवी र रमेशप्रसादकी सुपुत्री हुनुहुन्छ । उहाँको जन्म २०४१ सालमा काठमाडौँ महानगरपालिका २६ याकुपा टोलमा भएको हो । व्यवस्थापनमा उहाँले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । श्रेष्ठ आदिवासी जनजाति समूहबाट समानुपातिक कोटामा सांसद बन्नुभएको हो ।

राजनीतिमा छोटो अनुभव रहे पनि उहाँसँग विभिन्न चर्चित कम्पनीमा काम गरेको अनुभव रहेको छ । उहाँले २०७२ सालको भूकम्पपछि काष्ठमण्डप, राजनीपोखरीको पुनःनिर्माण र पुनस्र्थापनामा काम गर्नुभएको छ । उहाँले नेपाली नागरिकका समस्या न्यूनीकरण गर्नमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । प्रतिनिधि सभामा उहाँको स्पष्ट प्रस्तुति र विषयवस्तुको गहिराइले चर्चा पाइरहेका बेला रास्वपाले पार्टीले चारजना मन्त्री पाउँदा एक महिलाको रुपमा उहाँको नाममा निर्णय गरेको हो ।

एकीकृत समाजवादी दुई मन्‍त्री

भानुभक्त जोशी – संघीय मामिला तथा सामान्य प्रशासन

नेकपा (एकीकृत समाजवादी) का नेता भानुभक्त जोशी थेपु जोशी र जयराज जोशीका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०१६ सालमा बझाङमा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका जोशी २०७९ सालको संघीय निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । २०३६ सालमा अनेरास्ववियुमा आबद्ध हुनुभएका उहाँ विद्यार्थी राजनीति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ २०४७ मा नेकपा (माले) बझाङको सचिव, २०४९ सालमा नेकपा (एमाले) अञ्चल कमिटी सदस्य बन्नुभयो । उहाँ पहिलो पटक २०५१ सालमा प्रतिनिधि सभा सदस्य बन्नुभयो । २०५९ सालमा सेती अञ्चलको सह-इन्चार्ज बन्नुभएका उहाँ २०६० सालमा नेकपा एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्य बन्नुभयो । जोशी २०६४ सालमा एमाले केन्द्रीय सदस्य बन्नुभयो । उहाँ पहिलो संविधान सभा सदस्यमा निर्वाचित हुनुभयो । २०६८ सालमा वन तथा भू–संरक्षण मन्त्री बनेर काम गर्नुभएका जोशी २०७८ मा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी सदस्य बन्नुभएको हो । लामो समय एमालेको राजनीति गर्नुभएका उहाँ नेकपा विभाजनपछि एकीकृत समाजवादी पार्टीमा अवद्ध हुनुभएको हो ।

धनबहादुर बुढा – सहरी विकास

धनबहादुर बुढा आमा सोयालजम बुढा र बुवा लंकु बुढाका सुपुत्र हुनुहुन्छ । उहाँ २०३१ सालमा डोल्पामा जन्मनुभएको हो । प्रमाणपत्र तह (१२ कक्षा) सम्म अध्ययन गर्नुभएका बुढा डोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनिसक्नु भएको छ । उहाँ २०७० को संविधान सभा सदस्य बन्नुभयो । बुढा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट विजयी हुनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter