तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

मकवानपुर, फागुन २५ गते । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।

आयोजनाले पर्साको वीरगन्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ । आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी दुई सय दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ ।

आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगन्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको माग वृद्धि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताउनुभयो ।

उहाँका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगन्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबिच सहकार्य र प्राविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ । यसैगरी, आयोजनाले मधेसका चार जिल्ला र बागमतीको मकवानपुरका गरी करिब २८ हजार चार सय किसानलाई सो दूध खरिद गरेबापत मासिक तीन करोड १० लाख रकम भुक्तानी गर्ने गरेको प्रमुख खनालले बताउनुभयो ।

यसै गरी, आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय किलो, पनिर चार सय किलो र मख्खन पाँच सय किलो उत्पादन गर्दै आएको छ । आयोजनाले मिठाईतर्फ पेडा र लालमोहन दैनिक एक हजार दुई सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौँका उपभोक्ताको मागबमोजिम मिठाई, पेडा र लालमोहन दैनिक आठ सय कार्टुन पठाउँदै आएको सो आयोजनाले जनाएको छ ।

गत साउन र भदौको तुलनामा स्थानीय बजारमा दूधको माग कम हुँदा अहिले दैनिक दुई हजार लिटर दूध खरिदमा कटौती गरेको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुर गरी एक सय ५० व्यक्ति कार्यरत छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter