सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ; अस्पतालमा बस्न दिन अदालतको आदेश

काठमाडौँ, चैत ५ गते । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो।

उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन्।

अस्पतालमा बस्न दिन अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई अस्पतालमा बस्न दिन आदेश दिएको छ ।

महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएका थिए । सोहीअनुसार अदालतले आवश्यकताअनुसार अस्पतालमा बस्न दिन प्रहरीलाई आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ।

अदालतको आदेशअनुसार महराले केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा नबसेर नर्भिक अस्पतालमा बस्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको पूर्वसभामुख समेत रहेका महरा सुन तस्करी प्रकरणमा मुछिएपछि सोमबार रुपन्देहीबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराएकामा उनीमाथि अनुसन्धान गर्न सीआईबीले ४ दिनको म्याद दिएको छ ।

तर न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासमा महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको बताएका थिए । सोहीअनुसार अदालतले अस्पतालमा उपचार गराउन आदेश दिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले काठमाडौँ ल्याइएसँगै महरामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter