सांसदहरूको सुझावअनुसार नीति कार्यक्रम र बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री पुन

काठमाडौं, चैत ७ गते । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका आधारमा सांसदहरूले दिएका सुझावअनुसार नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा सो प्रतिबद्धता जनाउँदै उहाँले सांसदले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने बताउनुभयो । अर्थमन्त्री पुनले सरकारले लगानीअनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनः संरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने बताउनुभयो ।

उहाँले सामूहिक प्रणालीका जग्गाको एकीकरण गरी बाँझो जमिनको प्रयोग र चक्लाबन्दीमा कृषि फर्म स्थापना गरिने बताउनुभयो । उहाँले जनताको तीव्र विकासको चाहना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसदहरूले उठाएका विषयप्रति सरकार संवेदनशील रहेको उहाँको भनाइ छ । अर्थतन्त्रमा केही चुनौती देखापरेको भन्दै उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने बताउनुभयो ।

उहाँले निजी क्षेत्र विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अर्थमन्त्री पुनले सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजस्व र खर्चमा बढिरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक नवीन स्रोतहरूको पहिचान र परिचालन गरिने चर्चा गर्नुभयो ।

पुँजीगत खर्चको न्यूनताको समाधान गर्न नीति कानुन र प्रक्रिया सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले निर्माणाधीन पूर्वाधार आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने र अधुरा आयोजनाको स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजना सुरु गरिने बताउनुभयो । उहाँले सहुलियतयुक्त हरितवित्तको सम्भावनालाई अधिकतम उपयोग गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सांसदहरूले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउन चाहन्छु । लगानीअनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनः संरचना गर्ने र नयाँ मोडलका कार्यक्रम ल्याइने छ ।’

अर्थमन्त्री पुनले आगामी वर्षको बजेट १६ औँ योजनाको सोचअनुरूप पहिलो वर्षको प्रमुख कार्यान्वयन हुने वर्ष बन्ने उल्लेख गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित समाजवादउन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि ठोस आधार तयार हुने बताउनुभयो । गुणस्तरीय शिक्षा स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कायम गर्ने र प्रमुख रणनीतिक महत्वका आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ बजेट लक्षित हुने अर्थमन्त्री पुनको भनाइ छ । अर्थमन्त्री पुनले स्रोत साधनको दक्षता पूर्ण सहयोग उत्पादन तथा रोजगारी वृद्धिमा निजी क्षेत्र र सरकारी क्षमताको प्रयोग गर्ने वातावरण निर्माण गरिने जानकारी दिनुभयो ।

उहाँले समृद्धिमा मात्र नभई सामाजिक न्यायसहितको समृद्धिमा जोड दिए बजेटमा सामाजिक न्यायको पाटो उपेक्षामा नपर्ने स्पष्ट पार्नुभयो । अर्थमन्त्री पुनले अर्थतन्त्रमा देखिएका समस्या र सहकारी, लघुवित्त र मिटरब्याज समस्या प्रमुख प्राथमिकतासाथ समाधान गरिने बताउनुभयो । उहाँले नयाँ सत्ता समीकरणको साझा न्यूनतम साझा सङ्कल्पको जोड शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो । उहाँले आगामी वर्षको बजेट सत्ता समीकरणको सङ्कल्प कार्यान्वयनमा केन्द्रित हुने भएकाले अर्थतन्त्रले नयाँ गति लिने र हाल देखापरेका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएर हाल बढ्दो युवा पलायनको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै अर्थतन्त्रमा देखिएको मूल समस्या अर्थतन्त्र र रोजगारी पर्याप्त मात्रामा नबढ्नु भएको उहाँले बताउनुभयो ।

“नयाँ सत्ता समीकरणको साझा न्यूनतम सङ्कल्प सार्वजनिक भएको छ । सङ्कल्पको जोड शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनु छ” उहाँले थप्नुभयो, “अर्थतन्त्रमा देखिएका समस्या र सहकारी, लघुवित्त र मिटरब्याजका समस्या समाधान गर्नु प्राथमिकतामा रहेको छ । आगामी वर्षको बजेट सत्ता समीकरणको सङ्कल्प कार्यान्वयनमा केन्द्रित हुने भएकाले अर्थतन्त्रले नयाँ गति लिने र हाल देखा परेका समस्याहरू समाधान हुने विश्वास दिलाउन चाहन्छु ।”

उहाँले आगामी बजेट उत्पादन बढाउने र ठुलो मात्रामा युवाहरू परिचालन गर्ने कार्यक्रम ल्याइने बताउनुभयो । त्यसका लागि अहिले नै कार्यक्रम डिजाइन गर्ने काम सुरु भएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter