चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर

इलाम, चैत ९ गते । अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरूले सो बराबरको चिया अर्डर गरेका हुन् ।

इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए । उनीहरूलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गर्नुभएको थियो । सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबिच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको दाहालको भनाइ छ ।

चिनियाँ व्यवसायीले चियाबारी र उद्योगकोसमेत स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसान भेटघाट गरेका थिए । उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले एक महिनाअघि पाँच जना चिनियाँ व्यवसायीले यहाँ आएर अनुगमन गरेको र अहिलेसो परिमाणमा चिया अर्डर गरेको बताउनुभयो ।

चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले अवलोकनपछि चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उहाँको भनाइ छ । इलाम नगरपालिकाले यसअघिदेखि नै यसका लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । चिनियाँ व्यवसायीहरूले नेपाली चियाको गुणस्तर निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आशा पलाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter