फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ; होलीमा काठमाडौँका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी

काठमाडौं, चैत १० गते। जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।” यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

“काठमाडौँका विभिन्न वडामा शान्त वातावरणमा पर्व मनाउन आग्रहसहित माइकिङ गर्दै आएका छौँ”, प्रउ अधिकारीले भने, “हाम्रो चाहना भनेको शान्त र सभ्य होली मनाउनूस् भन्ने हो । हाम्रो आग्रहलाई अटेर गरी कानुन विपरीत क्रियाकलाप गरेमा कानुनी दायरामा ल्याउने छौँ ।”

अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने प्रउ अधिकारीले जानकारी दिए ।

मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

होलीमा काठमाडौँका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी

जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जानकारी दिए ।

काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए। उनले सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको जिकिर गरे ।

उनले भने, ‘होली पर्व आम नेपालीहरूको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरूमा हामीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौँ । राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली पर्व मनाउनको लागि सुरक्षा प्रबन्ध मिलाएका छौँ । विगतमा भएका जोखिमहरूको मूल्याङ्कन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरू भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरू बनाएका छौँ । त्यही अनुसारको प्रहरी परिचालन गरेका छौँ । मादक पदार्थ सेवा गरी सवारी चलाउनेको सङ्ख्या अत्यधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रूपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा विभिन्न ठाउँहरूमा चोकहरूमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ । अहिले भइरहेका कन्ट्रोल रुम भेहिकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचालन गर्दछौँ र हाम्रा मोबाइल भ्यानहरू अरू रिजर्भहरू सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौँ । भिडभाड हुने कुरालाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछौँ ।’

उनले होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताए । उनले होली खेल्न नचाहनेहरूका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे ।

वरिष्ठ उपरीक्षक खत्रीले भने, ‘होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र आपराधिक घटनाहरूलाई मध्यनजर गरी सुरक्षित बनाउन हामीले सामाजिक सञ्जालमा पनि अपिल गरेका छौँ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने लगायतका गतिविधि गरे कारबाही हुन्छ । सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्दछु । कुनै त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्दछु ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter