स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’

सिरहा, वैशाख ५ गते । विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री सिरहाको लहान नगरपालिका-१ कि पार्वतीकुमारी चौधरीले बनाउनुभएको हो ।

एकसट्ठी वर्षीया चौधरीले स्थानीय कच्चा पदार्थ प्रयोग गरी आफैले बनाएको सामग्री महोत्सवमार्फत बिक्री गरिरहनुभएको छ । जसलाई आगन्तुकले मन पराइदिनुभएको उहाँले सुनाउनुभयो । ‘समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ गत चैत ३० गतेदेखि यहाँ जारी ‘लहान एक्सपोः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’मा स्थानीय उत्पादनमा अवलोकनकर्ताको रुचि देखिएको हो ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा जारी महोत्सवकै कारण आफूले उत्पादन गर्दै आएका घरायसी सामग्रीका प्रदर्शन र विक्री गर्न पाएकोमा चौधरी खुसी हुनुहुन्छ । “सोचेजति व्यापार त भएन, तर सुरुआती दिनभन्दा क्रमशः व्यापार वृद्धि भइरहेको, धेरैले मन पराइदिनुभएको छ”, चौधरीले भन्नुभयो, “तीन दशकदेखि यही पेसाले घर खर्च चलेको छ । महोत्सवबाट थप हौसला मिलेको छ ।” महोत्सवमा टाढा-टाढाबाट पनि ग्राहक आएकाले आगामी दिनमा व्यापार अझ बढ्ने उहाँको भनाइ छ ।

आफ्ना उत्पादन सबैलाई देखाउन, बिक्री गर्न तथा प्रचार-प्रसार गर्न सहज भएको उहाँको भनाइ छ । महोत्सवमा विभिन्न रैथाने परिकारको कक्ष राख्नुभएका लहान-८ का जानुका पराजुली र सङ्गीता चौधरीले भने आफूहरूले सोचेभन्दा राम्रो व्यापार भएको बताउनुभयो । उहाँहरूले चामलको पीठो, मासको दाल, बन्दागोभी, सुपको दाल, मुला र लप्सीबाट बनेका विभिन्न परिकारहरू प्याकिङ गरेर राख्नुभएको छ । गाउँघरबाट सङ्कलन गरिएका सामग्रीलाई व्यावसायिक रूप दिई आर्थिक उपार्जनसँग जोडिएको जानुका पराजुलीले सुनाउनुभयो ।

त्यस्तै लप्सी र टमाटरको अचारले पनि ग्राहकको मन जितिरहेको पराजुलीले बताउनुभयो । “मधेसको पहिचान झल्कने रैथाने परिकारहरू उत्पादन गरिरहेका छौँ । हाम्रा उत्पादनलाई ग्राहकहरूले धेरै मन पराइदिनुभएको छ । सोचेभन्दा राम्रो बिक्री भइरहेको छ”, पराजुलीले भन्नुभयो, “अहिले दिनमा औसतमा चार हजारसम्मको व्यापार भइरहेको छ ।” उहाँले महोत्सव सकिएपछि पनि लहानचोकको दक्षिणतर्फ रहेको ‘मटिहर्वा कम्पेक्स’मा सटर भाडामा लिएर ‘कोसेली घर’ सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो । महोत्सवमा आयोजकले निःशुल्करुपमा प्रदर्शनी कक्ष उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो ।

महोत्सवबाट आफ्ना उत्पादन सबैलाई देखाउन, बिक्री गर्न तथा प्रचार-प्रसार गर्न सहज भएको सङ्गीता चौधरीको भनाइ छ । “गाउँमा एउटै ठाउँका मानिसले मात्रै अवलोकन गर्छन् । यहाँ विभिन्न ठाउँबाट मानिसहरु आएर अवलोकन गर्दा खुसी लाग्छ । व्यापार पनि राम्रो भएको छ”, चौधरीले भन्नुभयो, “यस्ता महोत्सवले व्यापारमा हौसला थपेको छ ।” चौधरीका अनुसार महोत्सवमा आउने आगन्तुक स्थानीय उत्पादनमा लोभिएका छन् ।

स्थानीय मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सम्बन्धित कक्षहरू निः शुल्क उपलब्ध गराइएको आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले बताउनुभयो । “मधेसको पहिचान झल्कने परम्परागत उत्पादन तथा परिकारको चिनारी दिलाउन र उद्यमीलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले उहाँहरूलाई निः शुल्क कक्ष उपलब्ध गराइएको हो । जसअन्तर्गत कृषि तथा घरेलुतर्फ २० वटा प्रदर्शनी छन्”, अध्यक्ष सारडाले भन्नुभयो । उहाँले प्याकेजिङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण गरी व्यावसायिक रूप दिन आवश्यक रहेको बताउनुभयो ।

त्यसै गरी महोत्सवले मौलिक उत्पादन, संस्कृति र मौलिक परिकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । मधेस प्रदेशस्तरीय महोत्सवमा विराटनगर, वीरगन्ज, काठमाडौँदेखि छिमेकी राष्ट्र भारत र बङ्गलादेशसम्मका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता सहभागी भएको अध्यक्ष सारडाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा कूल एक सय २१ वटा प्रदर्शनी कक्ष छन् ।

महोत्सव आयोजना गर्न करिब एक करोड ५० लाख खर्च भएको र महोत्सवभर करिब दुई करोड बराबरको व्यापार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । “अहिले एक त आर्थिक मन्दीको समय छ । यस्तो बेलामा व्यवसायीको आत्मबल अभिवृद्धि गर्न र व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन पनि यो महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट व्यापारसँगै स्थानीय उत्पादन प्रवर्द्धन गर्नु मुख्य उद्देश्य हो ।” महोत्सवमा प्रत्येक साँझ विभिन्न कलाकारको प्रस्तुतिसमेत रहने गरेको छ । महोत्सव आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter