राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता; जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं, वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार उहाँहरूबिच मंगलबार दिउँसो भएको भेटवार्तामा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।

यसका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी हुनुहुन्थ्यो । भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता थियो ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आइपुग्नुभएको हो । राष्ट्रपति पौडेलले कतारका अमिर शेखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । विमानस्थलबाट राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट अमिर शीतल निवास पुग्नुभएको हो ।

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता हुनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो ।

कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आउनुभएका हो । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्त्वपूर्ण चासोको विषय रहेको बताउनुभएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता हुनुहुन्छ । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter