भैँसीपालनले प्रख्यात बझाङको त्याडीगाउँ

बझाङ / जेठ ४ गते । सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बिचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भीमलका रुखहरु । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका-६ त्याडीगाउँ हो ।

घरघरमा दुहुनो भैँसी भएपछि पाहुनामात्र होइन छिमेकी समेत त्याडीगाउँको गोरस (दही-दूध)का पारखी छन् । यहाँका महिलाको दिनचर्या भैँसीको हेरचाहमै जान्छ । “टाढा नगया पन देलाउँ दोई भैँसाकी गोठाली छु”, बझाङी भाषामा दीक्षा बोहराले भन्नुभयो, “हामी आँगनकै भैँसी पाल्छौँ । त्यसैले घरमै भए पनि भैँसीको ग्वालो (गोठालो) लाग्नु परेको छ ।” दीक्षाका अनुसार गाउँमा सबै परिवारले एक भैँसी र एक गोरु पालेका छन् । “भैँसी सबैले दुहुनोमात्रै पाल्छन् । दूध नदिने भएपछि त्यसलाई बिक्री गरेर भए पनि नयाँ भैँसी ल्याइहाल्छन्, एक जनाको त कामै यिनैको रेखदेख गर्नु हो”, उहाँले भन्नुभयो ।

त्याडीगाउँमा ४२ परिवार छन् । ती सबैको घरमा भैँसी र गोरु पालिएका छन् । त्याडीगाउँकी बाटुली बोहराले भन्नुभयो, “गोरु वल्लोपल्लो घरको हल बनाएर जोत्छौँ । भैँसी सबैको घरमा गोरस (दही–दूध) खानलाई हुन्छ ।” सो गाउँमा कसैको घरमा पनि कहिल्यै गोरसको कमी नहुने उहाँले बताउनुभयो । बाटुलीको घरमा नौ जना हुनुहुन्छ । उहाँहरु सबैले घरायसी काम गर्नुहुन्छ । त्यतिलाई एउटा दुहुनो भैँसीको गोरसले पुगिरहेकै छ । “गोरस नभई खानेकुरा निल्न (खान) सकिँदैन”, बाटुलीले भन्नुहुन्छ, “उहिल्यैबाट भैँसी पाल्ने हुँदा अहिले पनि छाड्न सकेका छैनौँ । भैँसी नभए बाँच्न पनि सकिँदैन कि जस्तो लाग्छ । त्यसैले एउटा भए पनि पालिरहन्छौँ ।”

स्थानीयका अनुसार त्याडीगाउँमा पहिले भैँसी पाल्नबिच प्रतिस्पर्धा नै हुन्थ्यो । अहिले सबैले घटाए । स्थानीय उत्तम बोहरा भन्नुहुन्छ, “कहिलेकाहीँ छिमेकीको घरमा नभएपनि सबैले पुग्ने गरी दिइहाल्छन् । नत्र भैँसी खासै कसैको घरमा पनि टुट्दैन”, उत्तम बोहराले भन्नुभयो । त्याडीगाउँका भैँसी बर्खायाममा चर्न पाउँदैनन् । भिरालो जमिन भएकाले लेकतिर लिएपछि मात्रै भैँसीले चर्न पाउने गरेको र बाँकी समय घरमै राखेर गाजो (खर) खुवाउने गरिएको उहाँको भनाइ छ । उत्तमका अनुसार सो गाउँका बोहराले दूध र दूधजन्य पदार्थ खासै बेच्दैनन् ।

सबैको घरमा भैँसी रहेकाले व्यावसायिकरुपमा कोही नलागेका हुन् । घ्यू भने आफन्त तथन भारतमा गएका छोराबुहारीलाई दिन्छन् । गाउँपालिका उपाध्यक्ष मनिषा धामी दूधमा आत्मनिर्भर सो गाउँ सबैको नजरमा रहेको बताउनुहुन्छ । अरु गाउँले पनि सो गाउँबाट सिक्नुपर्ने उहाँको भनाइ छ । “त्याडीगाउँ एउटा आत्मनिर्भर गाउँ हो । यहाँका सबै मानिस आफ्नो काममै हुन्छन् । गरिखाने समुदाय त्याडीगाउँ नै हो । यहाँको सिको अरु गाउँले पनि गर्न सकेको भए धेरै राम्रो हुन्थो”, उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter