तराईमा लटरम्म स्याउ

चाँदनी आचार्य / कैलाली, जेठ ६ गते । कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ ।

ओलीले २०७८ सालदेखि तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती सुरु गर्नुभएको हो । उहाँको व्यावसायिक स्याउ खेतीमा रहरलाग्दो स्याउ फलेपछि अन्य किसानसमेत आकर्षित हुन थालेका छन् । गत वर्षदेखि फल्न थालेको स्याउ यस वर्ष अझ बढी फल्ने भनाइ ओलीको छ । उहाँ भन्नुहुन्छ, “एक हजार दुई सय बोट स्याउ फुलेको थियो, स्याउ लगाएको तीन वर्षपछि मात्र उत्पादन लिन सकिने भएकाले गत वर्ष २० बोट र अहिले डेढ सय बोटमा फल लाग्न दिएका छौँ ।”

ओलीको स्याउबारीका १५० बोटमा लटरम्मै स्याउका दाना लागेका छन् । तराईमा यसरी ठुलो क्षेत्रफलमा स्याउको व्यावसायिक खेती गर्ने ओली सम्भवतः पहिलो किसान हुनुहुन्छ । उहाँलाई स्याउ खेतीमा उत्प्रेरित गर्न प्रदेश सरकारले सहयोग गरेको छ ।

हालसम्म व्यावसायिक स्याउ खेतीमा ८० लाख रुपियाँ लागत लागेको जानकारी दिँदै ओलीले सुरुको वर्ष प्रादेशिक कृषि निर्देशनालयबाट साढे १० लाख, कृषि ज्ञान केन्द्रबाट साढे चार लाख रुपियाँ अनुदान पाएको बताउनुभयो । उहाँले सो अनुदान रकम बिरुवा खरिद र घेरबारमा खर्चेको बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र कैलालीबाट चार लाख २८ हजार रुपियाँ थोपा सिँचाइका लागि अनुदान प्राप्त गर्नुभएको हो । ओलीले हालसम्म १० लाख रुपियाँ थोपा सिँचाइमा लगानी गरेको बताउनुभयो । ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा एचआरएमएन (हर्मन) ९९ जातको स्याउको बोट भारतबाट ल्याएर खेती सुरु गरिएको हो ।

स्याउको बिरुवा पाँच वर्ष पुगेपछि पूर्ण उत्पादन दिन सुरु गर्छन् । ओलीले एउटा बोटले ५० किलोदेखि ८० किलोसम्म उत्पादन दिने बताउनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का स्थानीय ओली स्याउ खेतीकै लागि कैलालीको प्रतापपुरमा एक करोड ८६ लाख रुपियाँमा तीन बिघा जग्गा खरिद गरी स्याउ खेती सुरु गर्नुभएको हो ।

उहाँले स्याउका बेर्नासमेत बनाएर बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “गत वर्ष तीन सय रुपियाँ प्रतिबिरुवाका दरले एक हजार दुई सय स्याउका बेर्ना बिक्री गरेको थिएँ, अहिले पनि बेर्ना तयार हुँदै छन्, यसको माग बढ्दै छ ।”

ओलीको व्यावसायिक स्याउ खेतीबाट प्रभावित बनेका घोडाघोडी नगरपालिका–३, निम्दीका किसान विष्णुप्रसाद चौधरीले आफूले पनि व्यावसायिक स्याउ खेती सुरु गरेको बताउनुभयो । ओलीको स्याउ खेती अवलोकन गर्नेहरू स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउको बजार पनि राम्रो भएको भनाइ उहाँहरूको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter