• Thursday, May 22, 2025

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन; शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने

काठमाडौँ, साउन ९ गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहनुभएको छ ।

त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताउँदै उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ ।

साथै दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनीष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना सरकारले गरेको छ । मन्त्री गुरुङले भन्नुभयो, ‘‘२०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको छ । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । दिवङ्गत हुने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गर्दछ । नेपाल सरकार दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनीष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’’

उक्त दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न गैरसैनिक हवाई उडान, २०७१ को नियम १० बमोजिम रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जहाज आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगमा रतिशचन्द्रलाल सुमन संयोजक हुनुहुन्छ । सदस्यमा क्याप्टेन दीपुराज ज्वारचन, डा. दीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल हुनुहुन्छ ।

बैठकले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण सोको अनुगमन गर्ने साथै यस दुःखद् घडीमा शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीलाई हवाई जहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण सोको अनुगमन गर्ने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो ।

विमान दुर्घटना : शवको पोस्टमार्टम सुरु, रिपोर्ट आउन तीन दिन लाग्ने

सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम सुरु गरिसकेको जानकारी दिनुभयो ।

पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइसकेको डा. चौधरीले बताउनुभयो ।

सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उहाँले जानकारी दिनुभयो।

उहाँ भन्नुहुन्छ, “मृतकका आफन्त र सौर्य एयरलाइन्सले दिएको जानकारी र पोस्टमार्टमबाट आएको म्याच गरेपछि मात्र आफन्तलाई शव जिम्मा लगाउने हो।एउटा शवको पोस्टमार्ट गर्न चार घण्टा लाग्छ त्यस्तै १८ वटा शवको पोस्टमार्टम गर्न ७२ घण्टा लाग्ने अनुमान गरेका छौँ।त्यो हिसाबले सबैको रिपोर्ट आउन तीन दिन लाग्न सक्छ ।”

उहाँका अनुसार फिंगर प्रिन्ट, दाँतबाट मात्र पत्ता लगाउन सकियो भने रिपोर्ट आउन तीन दिन लाग्छ।यदि डिएनए म्याच गर्न परेमा रिपोर्ट आउन एक हप्ता लाग्नसक्ने उहाँको भनाइ छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो।एक जना घाइते हुनुभएको छ।घाइतेको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

उनको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले बताए । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter