प्रधानन्यायाधीशमा राउत सिफारिस

काठमाडौँ, भदौ ३१ गते । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको जनाइएको छ । पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाम सिफारिस गरिएको उपसभामुख रानाले बताइन् ।

यसअघि भदौ २३ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर संवैधानिक परिषद्‍मा पठाएको थियो । न्याय परिषद्ले राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उप–सभामुख र विपक्षी दलको नेता सदस्य हुने गर्दछ ।

राउतको नाम संसदीय सुनुवाइका लागि संसद्‍मा जाने छ । संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गर्दै सुनुवाइ गर्ने छ । उक्त सुनुवाइबाट अनुमोदन भए राउतलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । राउत २०८२ चैत १८ गते अवकाश हुने छन् । उनीपछि सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल हुँदै नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश हुने रोल क्रममा छन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गतेदेखि अवकाशमा जाँदैछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter