विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

काठमाडौँ, असोज १० गते । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।

गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रु १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति रु दुई खर्ब आठ अर्ब ७९ करोड छ ।

चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

एक खर्ब ३६ अर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशभित्र भित्रिएको छ । बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार नौ सय २८ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार छ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब २८ अर्ब २१ करोड थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter