• Tuesday, April 29, 2025

अब पोखरा २४ घण्टा खुला

फडिन्द्र अधिकारी / लेखनाथ, चैत ३ गते। गण्डकी प्रदेशको राजधानी पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ। पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने भएको छ।

शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले २४ घण्टा खोल्ने अनुमति पाए पनि अरु बजार राति १० बजेपछि बन्द हुने गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा भएका मुख्य सहरी क्षेत्र २४ घण्टा खुला राख्ने निर्णय भएको जानकारी दिनुभयो।

“अहिले मापदण्ड पूरा भएका मुख्य बजार क्षेत्र खुला गर्ने र विस्तारै पूरै पोखरालाई नै २४ सै घण्टा खुला गर्दै जाने निर्णय भएको छ,” उहाँले भन्नुभयो। आइतबारबाट महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, राष्ट्र बैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ घण्टा खुला हुने छन्।

व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले केही मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ। गृह मन्त्रालयले नै २४ सै घण्टा खुला राख्नका लागि तोकेका शर्त उनीहरुले पूरा गर्नुपर्ने छ। ती मापदण्ड पर्यटकीय राजधानी घोषणा कार्यक्रममा आइतबार सार्वजनिक गरिने क्षेत्रीले उल्लेख गर्नुभयो।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुरक्षा समिति र सरोकारवालाको बैठकले पहिलो चरणमा राति १ बजेसम्म र रातभर खोल्नेगरी दुई खालका कार्यविधि बनेको जनाउनुभयो। पर्यटकीय राजधानी सहर राति १० बजे नै बन्द हुँदा पर्यटक अप्ठेरोमा पर्ने गरेको उहाँको भनाइ छ।

प्रशासनको यो निर्णयबाट पर्यटन व्यवसायी उत्साहित छन्। एकातिर पर्यटकीय राजधानी घोषणा, अर्कातिर पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्ने निर्णयले पर्यटन व्यवसायमा उत्साहको सञ्चार हुने पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ। होटल संघ गण्डकी अध्यक्ष हरि शर्मा गैह्रे यो निर्णयले पोखरा उज्यालो र खुला रहेको सन्देश जाने र अर्थतन्त्रलाई चलायमान बनाउने विचार राख्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter