• Saturday, April 26, 2025

ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी; कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, चैत ७ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिनुभएको छ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले गर्नेछ। जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नयाँ वर्ष लगत्तै बजार खुला हुने बताउनुभयो। ‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १० भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भन्नुभयो, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुहोस् : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभएको छ। उहाँले आज्ञापालक नभएर सिर्जनशील हुन प्रशासकलाई निर्देशन दिनुभएको हो। उहाँले नागरिकबाट मान सम्मान खोज्ने भन्दा उनीहरूलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ। उहाँले औपचारिक कार्यक्रममा समय बरबाद नगर्नसमेत निर्देशन दिनुभयो।

बुधबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘ राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरूलाई सम्मान गर्नुहोस्। औपचारिक कार्यक्रममा धेरै समय बरबाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, जिम्मेवारी लिएपछि नभाग्नुस्।’

उहाँले अध्यागमनका समस्या समाधानका योजना ल्याउनका लागि कर्मचारीले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। सेवाग्राहीले सास्ती भोग्नु नहुने उहाँको भनाइ छ। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भन्दै उहाँले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नसमेत निर्देशन दिनुभएको छ।

‘‘नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकार अनुसार काम गर्नुहोस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्’’, गृहमन्त्री लामिछानेले भन्नुभयो।

उहाँले सार्वजनिक सरोकारका विषयमा तत्काल सुधारका योजना बनाएर लागू गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, ‘‘सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुहावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुहोस्।’’

गृहसचिव एकनारायण अर्यालले सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले स्थानीय सरकारसँग समन्वय गरेर समयमै निर्णय र रिपोर्टिङ गर्न निर्देशन दिनुभयो।

गृह मन्त्रालयले केही दिन अगाडि अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि गृहमन्त्रीले गृहमन्त्रीले निर्देशन दिनुभएको हो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter