• Wednesday, May 21, 2025

किवी खेतीमा किसान आकर्षित

डिलबहादुर सिंह / डोटी, साउन १६ गते । डोटीमा किवी फलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा कृषकले २८ हेक्टर क्षेत्रफलमा किवी खेती गर्दैआएका छन् । यहाँ ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन हुनेगर्छ ।

जिल्लाका बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका लगायतका स्थानमा किवी खेती गरिँदैआएको छ ।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीका अनुसार पछिल्लो समय किवी खेती गर्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको छ । निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, ‘आर्थिक वर्ष २०७८–७९ सम्ममा ९ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिँदै आएकोमा ३५ मेट्रिक टन किवी उत्पादन भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७९–८० मा २१ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएकोमा ४९ दशमलव ४ मेट्रिक टन किवी उत्पादन भएको थियो । जिल्लामा गत आर्थिक वर्ष २०८०–८१ मा २८ हेक्टर क्षेत्रफल जग्गामा किवी खेती गरिएकोमा ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन भएको छ ।

किवी खेती गर्ने क्रममा सुरुवाती दिनमा किसानको बढी मेहनत चाहिने कृषकको भनाइ छ । किवी खेतीका लागि किसानहरुले झन्झटिलो मान्ने भए पनि फल उत्पादन हुन थालेपछि दीर्घकालीन फाइदा हुने देखेपछि कृषक खुशी हुन्छन् ।

‘परीक्षणका रुपमा नौ वर्ष अघि म एक्लैले गाउँमा किवी खेती गर्दा किवी उत्पादन हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको थियो’ बडिकेदार गाउँपालिका –५ दुदिला गाउँका किवी खेती गर्दै आउनुभएका किसान पदम बोहराले भन्नुभयो, ‘आजभोलि मेरो बारीमा किवी फल राम्रो उत्पादन भइरहेको छ ।

“सुरुवातका केही बर्ष धेरै मेहनत गर्नुपरेको थियो । अन्न र तरकारीभन्दा किवीबाट फाइदा राम्रो हुँदैआएको छ” कृषक बोहराले भन्नुभयो, “एकै पटकमा फल लाग्ने र पाक्ने गर्छ । यो वर्ष ४ क्विन्टल र आगामी वर्ष १० क्विन्टल किवी फल बिक्री गर्ने मेरो लक्ष्य छ ।’

डोटीको भिमदत्त राजमार्ग आसपासका क्षेत्रमा किवी खेती गर्दैआएका किसानलाई छिमेकी मुलुक भारतबाट समेत ब्यापारीहरुले किवी किन्न आइपुग्छन् । भारतका ब्यापारीले डोटीको जोरायल गाउँपालिकामा –१ गैराका कृषक भाष्कर भट्टले ३५ रोपनी जमिनमा किवी खेती गरिदै आएको थाहा भएपछि अघिल्लो बर्ष १० क्विन्टल किवीको माग आएको बताउनुभयो ।

कृषक भट्टले भन्नुभयो, ‘भर्खरै बोटमा फल्न सुरु भएकाले पुगाउन सकिएन । आगामी दिनमा यस क्षेत्रबाट किवी बिक्रीका लागि भारतीय व्यापारी पनि हाम्रो सम्पर्कमा नै छन् ।’

पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझो राख्ने चलन बढ्न थालेको छ । अन्नबाली कम फल्ने जमिनमा समेत किवी खेती उत्पादन हुँदैआएको छ । आर्थिक रुपमा समेत अन्नबालीभन्दा फलफूल खेतीबाट किसानले बढी फाइदा लिन थालेका छन् । गत वर्ष किवीको बजार मूल्य २ सयदेखि २५० प्रतिकिलोसम्म थियो ।

जिल्लामा ६० जनाभन्दा बढी किसानले किवीखेती गर्दैआएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । बिमा कम्पनीहरुले पनि किवी खेतीलाई बिमाको दायरामा ल्याउन थालेका छन् । राष्ट्रिय बिमा कम्पनीले देशमा पहिलो पटक डोटीको जोरायल गाउँपालिका –१ गैराका किसान भाष्कर भट्टले गरेको किवी खेतीको बिमा गरेको छ । कृषक भट्टले लगाएको ५ सय बोट किवी फलको २५ लाख रुपियाँ बराबरको कृषि बिमा गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter