• Monday, April 28, 2025

अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत दुर्गा

President Disabled Sportsराजेन्द्र पनेरु / कञ्चनपुर, १८ मङ्सिर । मनमा काम गर्ने अढोट र साहस भए जस्तोसुकै कार्यलाई पनि सहज ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने भनाइलाई कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–२ लक्ष्मीपुरकी दुर्गा चौधरीले चरितार्थ गरेर देखाएको छ ।

डेढ वर्षको उमेर छँदा पक्षपातका कारण कम्मरमुनिको भाग नचल्ने दुर्गाले घरमै बसीबसी रु १५ हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । सिलाइसम्बन्धी सीप सिकेर उहाँले दुई वर्ष अगाडिदेखि सोही पेसामा संलग्न रहदै आएकी छिन् ।

कक्षा ६ सम्म अध्ययन गर्नुभएकी चौधरी यस क्षेत्रकै अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत भएकी छिन् ।

अपाङ्गता भएकै कारण सङ्गी र शिक्षकबाट पनि मानसिक तनाव दिइने भएकाले विद्यालय शिक्षा पूरा गर्न सकिएन्, उहाँले भन्नुभयो – “परिवारका लागि बोझ बन्नुभन्दा केही गरेर देखाउनुपर्छ भनेर यस पेसालाई रोजेकी छु ।”

नेपाल अपाङ्ग महिला सङ्घले दुई वर्षअघि प्रदान गरेको सिलाइकटाइसम्बन्धी सीप सिकेपछि उनी घरमै बसी बसी महिलाले लगाउने कुर्ता, सलवार, ब्लाउज, पेटिकोट, मेक्सी र विद्यार्थीका पोसाकलगायत सिलाएर मासिक रु १५ हजारदेखि २० हजारसम्म आम्दानी गर्दै आएकी छिन् ।

सिउने कार्यसँगै मासिक शुल्क लिएर स्थानीय महिलाका लागि कपडा सिलाइ कटाइको तालिमसमेत दिइने गरेकि छिन् । सीप सिक्न आउने महिलाबाट प्रतिमहिना रु ६०० का दरले रकमसमेत लिने गरेको उहाँ बताउनुहुन्छ ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा बुबा र आमाले अर्काको जग्गा अधियामा लिएर अन्नको जोहो गर्ने तथा भाइ बहिनीको विद्यालय खर्च धान्न निकै मुस्किल थियो उहाँले भन्नुभयो – “मैले सिलाइको कार्य गर्न थालेपछि आर्थिक अवस्थामा सुधार आएको छ ।”

घर परिवार र छिमेकीले कर्म यस्तै ल्याएर जन्मेको भनेर कुरा काट्दा मन दुख्थ्यो उहाँले विगत कोट्याउँदै भन्नुभयो – “सोच्थे कुरा काट्नेहरुका अगाडि केही गरेर देखाउनुपर्छ तर परिवारको आर्थिक अवस्था ज्यादै दयनीय भएकाले सीप सिक्ने त परको कुरा बिरामी पर्दा उपचारसमेत पाइँदैनथ्यो ।”

अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि अग्रसर सङ्घसंस्थासँगको सम्पर्कमा पुगेपछि उहाँहरुले सीप सिकेर आम्दानी गर्न उत्प्रेरित गर्न थालें उनी भन्छिन्— सीपसँगै सिलाइ गर्ने मेसिन र कार्य सञ्चालन गर्न रकम पाएपछि हौसला थपियो, अहिले सिलाइ कार्य गरेर सपाङ्गभन्दा बढी कमाइ घरमै बसी बसी गर्न थालेपछि विगतमा कुरा काट्नेहरु सराहना र प्रशंसा गर्दै हिँड्न थालेका छन् ।

यसबाट आफूमा अझै राम्रो सीप सिकेर व्यवसायलाई अगाडि बढाउने साहस थपिएको छ, चौधरी भन्छिन् – “कमाइ गरेर घरपरिवारको गर्जो टार्न थालेकाले सबैले साथ दिन थालेका छन् ।”

दयाको पात्र नबनेर केही उदाहरणीय कार्य गरी आफ्नो छुट्टै पहिचान बनाएर अपाङ्गता भएका व्यक्तिले पनि समाज र परिवारका लागि केही गर्न सक्छन् भनेर देखाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

साहस बटुलेर गरेको कार्य समाजकै लागि अनुकरणीय रहेको छ, अपाङ्ग एकता समाज नेपाल कञ्चनपुरका अध्यक्ष हरिदत्त भट्ट दुर्गाले भन्नुभयो – “दुर्गाले जीवनमा गरेको सङ्घर्ष र प्रगतिलाई अन्य अपाङ्गता भएका व्यक्तिले प्रेरणाका रुपमा लिई स्वावलम्बी बनेर अगाडि बढ्नुपर्छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter