• Wednesday, May 21, 2025

बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना;  रुद्रमती सफाई १५० औँ हप्तामा

 

Bagmati cleaning Campaignकाठमाडौँ, २३ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ ।

अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताउनुभयो ।

“फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम रु पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ”–उहाँले भन्नुभयो ।

फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था छ ।

प्रत्येक शनिबार झैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एक सय ९१ औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

स्वतः स्फूर्तरुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाई र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

रुद्रमती सफाई १५० औँ हप्तामा

रुद्रमती सफाइको १५० औँ हप्तामा आज बूढानीलकण्ठदेखि बुद्धनगरसम्म १० स्थानमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

आजको विशेष कार्यक्रमको शुभारम्भ स्वास्थ्यमन्त्री गगनकुमार थापाले बूढानीलकण्ठ मन्दिर परिसरमा गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताउनुभयो । यो अभियानमा आफ्नो पनि साथ र सहयोग रहने उहाँको भनाई थियो ।

सफाइ अभियान सुरु हुनुअघि योग शिक्षकद्वय डा राजु अधिकारी र किशोर साहीले योग प्रशिक्षण दिनुभयो । सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व सचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गर्नुभएको थियो । रुद्रमतीका १० स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालय लगायतको सक्रियता थियो ।

विष्णुमती सफाइको १२४ औँ हप्ताका अभियन्ता पनि आज रुद्रमतीमै केन्द्रित भएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । बूढानीलकण्ठस्थित विष्णुमती मुहानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter