• Saturday, April 26, 2025

‘सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’: निधि; सहिद परिवारलाई काँग्रेसको रु सात लाख सहयोग

Bimalendra Nidhiशेरबहादुर सिंह / कञ्चनपुर, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

सोह्र दिनअघि कल्भर्ट निर्माणका विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमका परिवारलाई सरकारले घोषणा गरेको राहत रकम हस्तान्तरण गर्न यहाँ आइपुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राष्ट्रियता, स्वाभिमान र भौगोलिक अखण्डता सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

आन्तरिक रुपमा राजनीतिक दलबीच फरक मत रहे पनि राष्ट्रियता, सीमा संरक्षण, भौगोलिक अखण्डताका विषयमा सबै एकै ठाउँमा रहेका गृहमन्त्री निधिको भनाइ थियो । आनन्द बजारमा भएको घटनामा भारतीय सुरक्षाकर्मीकै गोली लागेर गौतमको निधन भएका विषयमा आफूले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग प्रमुख मुद्दा बनाएर विषय उठान गरेको उहाँले बताउनुभयो ।

“मैले भारतीय प्रधानमन्त्रीलगायत सबै अधिकारीसँग तपाईकै सुरक्षाकर्मीको गोलीबाट गौतमको निधन भएको प्रतिवेदन पेस गरेको छु”– गृहमन्त्री निधिले भन्नुभयो, “भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” आनन्द बजार क्षेत्रको नेपाल–भारत सीमा छुट्याउने २०० नम्बर सीमास्तम्भ सयौँ वर्षदेखि नरहेको बताउँदै उहाँले सिमाङ्कनका विषयमा नेपाल र भारतको संयुक्त सर्वे टोलीले स्थलगत अनुगमन गरी सीमा समस्या समाधान गर्ने विषय अघि बढेको बताउनुभयो ।

“पुरानो सम्बन्ध छ भन्दैमा आफ्नो दोष लुकाएर अर्कालाई दोषी बनाउन पाइँदैन”– निधिले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकताका लागि कसैसित सम्झौता गरिन्न, ‘तपाईहरुले गरेको दाबी नै प्रमाणित हुनेमा म विश्वस्त छु ।” उहाँले भन्नुभयो, “स्थलगत सर्वेपछि सीमाको विवाद टुङ्ग्याउने विषयमा भारतले पनि सहमति जनाएको छ ।”

आनन्द बजारमा विवादका बेला खटिएको नेपाली सुरक्षाकर्मीबाट गोली नचलेको बताउँदै सहिद गौतमलाई लागेको गोली स्तरीय हतियारको रहेको मन्त्री निधिले जानकारी दिनुभयो । “शव परीक्षण र विधिविज्ञान प्रयोगशालाको रिपोर्टबाट पनि भारतीय सुरक्षाकर्मीकै गोलीबाट घटना भएको देखिन्छ,” मन्त्री निधिले भन्नुभयो ।

घटनालगत्तै सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै घटनाको तत्काल विरोध गरेको बताउँदै मन्त्री निधिले सहिद परिवारलाई रोजगारी दिने विषयमा पनि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । नेपाल–भारतको संयुक्त रुपमा गठन भएका तीनवटा सर्वे टोलीले सुस्ता र कालापानीबाहेक सबै नापचाँजमा सम्पूर्ण सर्वे गरिसकेको र धरातलमा छुट्याउन भने बाँकी रहेको उहाँले बताउनुभयो ।

“सीमाको विषय टुङ्ग्याउन थप दुईवटा सर्वे टोली बनाएर काम थाल्ने विषयमा भारतले पनि सहमति जनाएको छ,”– निधिले भन्नुभयो, “संयुक्त टिमको सर्वेपछि सीमा विवाद टुङ्गिनेमा विश्वस्त छु ।”

कार्यक्रममा गृहमन्त्री निधिले सरकारले घोषणा गरेको राहत रकम रु १० लाखको चेक हस्तान्तरण गर्नुका साथै सहिद गौतमका श्रीमती लक्ष्मी, बुबा खेमलाल र आमा हरिदेवीलाई दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नुभयो । पुनर्वास पुग्नुभएका गृहमन्त्री निधिसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, कृषि विकासमन्त्री गौरीशङ्कर चौधरी, सांसदहरु नारायण प्रकाश साउद, बहादुरसिंह थापा र दिवानसिंह विष्ट, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतले सहिद गौतमलाई गोली हानिएको कल्भर्ट निर्माण क्षेत्रको समेत निरीक्षण गर्नुभयो ।

सहिद परिवारलाई काँग्रेसको रु सात लाख सहयोग

नेपाली काँग्रेसले सहिद गोविन्द गौतमका परिवारलाई रु सात लाख तथा घटनाका घाइते टीकाराम चापागाईंलाई रु एक लाख प्रदान गरेको छ । काँग्रेसको उक्त सहयोग चेक उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहिदको श्रीमती लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घ कैलालीले पनि सहिद गौतम परिवारलाई रु चार लाख तथा घाइते टीकाराम चापागाईंको उपचारका लागि रु एक लाख ३० हजार सहयोग प्रदान गरेको छ । घटनाका घाइते चापागाईंलाई उपचारका लागि आजै गहृमन्त्री निधिसँगै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

कार्यक्रममा सहिद गौतमको तस्बिरमा गृहमन्त्री निधि, मन्त्री लेखक र सांसदहरुले माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बारेमा मन्त्री निधिलाई जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter