• Tuesday, April 29, 2025

पाकिस्तानी प्रम स्वदेश प्रस्थान; ‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’

Guard of Honour Pak PMकाठमाडौँ, फागुन २२ गते । नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गर्नुभयो । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शिष्टाचार भेट गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा उहाँले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्नुभएको थियो ।

‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो ।

सार्कका उद्देश्य, आदर्श र सिद्धान्तप्रति पाकिस्तानको अटुट आस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “सार्कको बडापत्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ।” प्रधानमन्त्री अब्बासीले सार्कको १९औँ शिखर सम्मेलन शीघ्रातिशीघ्र हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । पाकिस्तानी प्रधानमन्त्रीले सचिवालय परिसरमा धुपीको बिरुवा रोपेर जलसिञ्चनसमेत गर्नुभएको थियो ।

कार्यक्रममा सार्कका महासचिव अमजद बी सियालले १८औँ शिखर सम्मेलनमा सार्क नेतृत्वले हरेक दुई वर्षमा शिखर बैठक गर्ने निर्णय गरेबमोजिम संगठनलाई गतिशील तुल्याउन १९औँ सम्मेलनको अपरिहार्यतामा जोड दिनुभयो । सार्क सचिवालयलाई निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गरेकामा सार्कको वर्तमान अध्यक्ष तथा सचिवालय आतिथेय मुलुक नेपालसहित सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गर्दै उहाँले यसअघि पाकिस्तानले सार्कका दुई शिखर सम्मेलन आयोजना गरिसकेको र सार्कका लक्ष्य एवं सिद्धान्त प्राप्तिमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नौ वर्ष अगाडि फागुन महिनामा सार्कको संस्थापक सदस्य मुलुक श्रीलंकाका तत्कालीन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सार्क सचिवालयको भ्रमण गरी सचिवालय परिसरमा बिरुवा रोपेको जानकारी दिँदै उहाँले सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकारले सचिवालय भ्रमण गर्ने प्रचलन रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter