• Wednesday, May 21, 2025

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

KTM Tarai fast trackकाठमाडौँ, पुस ७ गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ ।

शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी हुनुहुन्थ्यो । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए ।

काठमाडौँबाट निजगढसम्म हेलिकप्टरमा गएको टोलीले निजगढको जिरो किमीदेखि मोहोरीसम्म गाडीमा स्थलगत भ्रमण गरेको थियो । त्यहाँ सेनाका मेजर राजेशकुमार देवले आयोजनाको कामबारे जानकारी दिनुभएको थियो । सो क्याम्पअन्तर्गत १० किमी क्षेत्रमा कटिङ तथा फिलिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले कटिङ गरेपछि पहिरो जाने समस्याले केही अवरोध सिर्जना भइरहेको बताउनुभयो ।

सो अवसरमा स्थानीयवासी रविराज दङ्गालले द्रुतमार्ग बन्दा स्थानीय जनता खुशी रहेको तर ढिलासुस्ती होला कि भन्ने चासो रहेको बताउनुभयो । उहाँले स्थानीयवासीलाई रोजगारी र स्थानीय साधन स्रोत प्रयोग होस् भन्ने धारणा राख्नुभयो । नेपाली काङ्ग्रेसका महासमिति सदस्य मीना लामाले सेनाले गरेको काम छिटो भएको छ, सेनाले विश्वास आर्जन गरेको छ भन्नुहुँदै सेनालाई नै काम दिएमा द्रुतमार्गको काम छिटो हुने बताउनुभयो ।

सेनाको अर्को क्याम्प मकवानपुरको बकैया गाउँपालिका, राजदमारमा सेनाको निर्माण कार्यदल प्रमुख महासेनानी पुरुषोत्तम कार्कीले सो क्याम्पअन्तर्गत आठ किमीमा पुलबाहेक फिलिङको काम तहतहमा भइरहेको जानकारी दिनुभयो । कल्भर्टको काम पुस १५ सम्ममा सकिने र पुल भने अर्को वर्षदेखि शुरु हुने बताउनुभयो । उहाँले कान्ति राजपथलाई बचाउन डब्लु डाँडामा सुरुङ प्रस्ताव गरिएको पनि बताउनुभयो ।

राजदमारका स्थानीयवासी रामकुमार थिङ र राजन दङ्गालले सो स्थानमा धरान–चतरा हुँदै मदन भण्डारी लोकमार्ग पनि जोडिने भएको र सरकारले इन्टरचेन्जका लागि जग्गा अधिग्रहण गरिसकेकाले इन्टरचेन्ज सोही स्थानमा बन्नुपर्ने बताउनुभयो ।

रामेछापमा जन्मी ३८ वर्षदेखि सो स्थानमा बस्दै आउनुभएका ८० वर्षीय दण्डपाणी दाहालले यो बाटो आफ्नै पालामा बन्ने हो कि होइन भनी आशङ्का व्यक्त गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री खनालले अब यो बाटो चाँडै बन्छ, केही वर्षमै तपाईं गाडी चढेर काठमाडौँ पुग्न सक्नुहुन्छ भनेर आश्वस्त बनाउनुभएको थियो ।

सेनाको अर्को क्याम्प मकवानपुरको बुदुनेमा त्यहाँका प्रमुख प्राविधिक सेनानी अरविन्द श्रेष्ठले २०७४ साउन १९ देखि सो क्याम्प स्थापना भई डिजाइनअनुरुप काम भइरहेको र त्यस क्षेत्रमा ११ वटा पुल बन्ने जानकारी दिनुभयो । उहाँले कटिङ र फिलिङमा जनशक्ति खटाइएको र यो आर्थिक वर्षभित्र सकिने बताउँदै सो काम ७९ दशमलब १ प्रतिशत पूरा भइसकेको बताउनुभयो । उहाँले स्थानीयवासीका माग र गुनासा सम्बन्धमा स्थानीयस्तरमै छलफलबाट समस्या सुल्झाइने गरेको र कुनै अवरोध नभएको बताउनुभयो ।

स्थानीयवासी हेटौँडा उपमहानगरपालिका, एक्लेखेतका बाबुराम न्यौपानेले इन्टरचेन्ज (लिंक रोड जोडिने ठाउँ) अन्यत्र राख्ने चर्चा भइरहेको छ तर हेटौँडाको सडक स्थानीय जनतालाई सुविधा हुने गरी गाउँको बीचबाटै ल्याई यहाँ इन्टरचेन्ज राखिनुपर्ने बताउनुभयो ।

सेनाको अर्को क्याम्प रहेको मकवानपुरको लेनडाँडामा क्याम्प प्रमुख इञ्जिनीयर विनोद श्रेष्ठले सिवालिकको धेद्रेडाँडादेखि महादेवटारसम्म सबैभन्दा लामो तीन दशमलब तीन किमीसहित तीनवटा सुरुङ मार्ग प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले कान्ति राजपथ जोगाउन डब्लु डाँडामुनिबाट सुरुङ बनाइने बताउनुभयो ।

शिवालिक र महाभारतको मिलन हुने मेन बाउण्डरी थ्रस्ट यहाँ पर्ने भएकाले सो कुरालाई ध्यानमा राखी सुरुङको डिजाइन गरिएको उहाँले बताउनुभयो । सुरुङ मार्गले केही खर्च बढे पनि पाँच मिनेट यात्रा समय घट्ने पनि उहाँले बताउनुभयो ।

निर्माण कार्यदल, काठमाडौँको मख्खुबेँसीमा प्राविधिक सेनानी अजित श्रेष्ठले यहाँ निर्माण भइरहेको नौ किमीमा पाँच ठाउँमा अण्डरपास पर्ने, ११ ठाउँमा पुल बन्ने बताउनुभयो । उहाँले कटिङको काम ७४ प्रतिशत सम्पन्न भइसकेको र दुई महीनामा कटिङ सम्पन्न हुने बताउनुभयो । यस खण्डमा एक किमी मात्र ललितपुर र बाँकी सबै काठमाडौँमा पर्ने उहाँले बताउनुभयो । मख्खुबेँसी द्रुतमार्गमा पर्ने काठमाडौँ उपत्यकाको सबैभन्दा दक्षिणी बिन्दु हो ।

कूल १० वटा क्याम्पमध्ये काठमाडौँतर्फबाट दोस्रो सो क्याम्पले २०७४ असारदेखि काम शुरु गरेको श्रेष्ठले जानकारी दिनुभयो । यस क्षेत्रमा वाग्मतीमा ९० मिटर र १५० मिटरका लामा पुल बन्ने पनि उहाँले बताउनुभयो । सो क्षेत्रमा २७२ रुख कटान गरी जिल्ला वन कार्यालयलाई बुझाइएको पनि उहाँले जानकारी दिनुभयो ।

आयोजना प्रमुख उपरथी खाँडले सेनाले सो सडक बनाउँदा नेपालकै श्रम सीप उपयोग गरेर कम खर्चमै निर्माण गर्न लागेको बताउनुभयो । उहाँले द्रुतमार्गको कूल खर्च भने कोरियाली कम्पनीबाट विस्तृत परियोजना प्रतिवेदन आएपछि मात्र यकिन हुने र यदि रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएमा मन्त्रिपरिषद्ले मात्र गर्नसक्ने बताउनुभयो । उहाँले द्रुतमार्गमा जम्मा छ किमी सुरुङ मार्ग बन्ने पनि जानकारी दिनुभयो ।

उहाँले कटिङको काम ७०–८० प्रतिशत पूरा भइसकेको तथा अब तीन÷चार महीनामा फिलिङको काम सकिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter