• Tuesday, April 29, 2025

ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

काठमाडौँ, वैशाख २० गते । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो ।

धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा १०० रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ । शुरुआती चरणमा जरिवाना गराएर कार्यान्वयन गर्न थालिए पनि कार्यक्रमले निरन्तरता नपाउँदा ऐन कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उक्त अभियान यही वैशाख २९ गतेदेखि सञ्चालन गरिँदै छ । पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पतालमा ऐन कार्यान्वयन गरी सुर्तीजन्य पदार्थ प्रयोग निषेध गर्न लागिएको हो ।

सार्वजनिक स्थान, सरकारी कार्यालय, अस्पताल उद्योग, कलकारखाना, शिक्षण सङ्घसंस्था, विमानस्थल, होटल, सिनेमा घरलगायत क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन । अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्रसमेत धूमपान गर्न नहुने ऐनमा उल्लेख छ । प्राणघातक रोगको प्रमुख कारण रहेको सुर्तीजन्य पदार्थले प्रयोगकर्तालाई मात्रै नभई समाजलाई नै असर पार्ने भएकाले ऐन कार्यान्वयनका लागि अभियान नै सञ्चालन गर्न लागिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । “पहिलो चरणमा हामी ठूला अस्पतालमा कार्यान्वयन गर्छौं, त्यसपछि अन्य अस्पताल र क्षेत्रमा कार्यान्वयनतर्फ लाग्छौँ”, पोखरेलले भन्नुभयो ।

उहाँका अनुसार ऐन कार्यान्वयनका लागि अस्पताल, समुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्याम, नागरिक समूहसँग समन्वय गरिएको छ । काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बज्राचार्यले विगतमा महानगरपालिकाले पहल गरे पनि कार्यान्वयन गर्न नसकिएको भन्दै सामूहिक प्रयासले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले मानिसको मृत्युको सबैभन्दा ठूलो कारण नै सुर्तीजन्य पदार्थ रहेको उल्लेख गर्दै भन्नुभयो, “यसले स्वयं व्यक्तिलाई त हानि गर्छ गर्छ, तर अरु मानिसलाई पनि असर पर्छ, त्यसैले यो अभियान सफल पार्नुपर्छ, सबैको सामूहिक प्रयास हुनुप¥यो ।”

शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेम खड्काले विगतमा आफूहरुले गरेको प्रयाससमेत असफल भएको स्मरण गर्दै प्रहरीको अगुवाइमा तत्कालै दण्ड सजाया हुने गरी चल्ने अभियानले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै ऐन कार्यान्वयनका लागि सबैको सामूहिक प्रयास र निरन्तरताको खाँचो रहेको औँल्याउनुभयो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा १८ दशमलव ५ प्रतिशतले धूमपान गर्ने गरेको छ । नेपालमा वार्षिक सुर्तीजन्य पदार्थका कारण २४ हजार बढीको ज्यान जाने गरेको राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले जानकारी दिनुभयो ।

कार्यान्वयनका लागि समिति गठन

सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी विशेष अभियान सञ्चालनको विषयमा आज काठमाडौँमा सरोकारवालाबीच छलफल भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको आयोजनामा भएको कार्यक्रममा उक्त अभियानका लागि सम्बन्धित क्षेत्रका सामुदायिक सेवा केन्द्रका प्रतिनिधिको अध्यक्षतामा सम्बन्धित अस्पताल, वडा कार्यालय, प्रहरीवृत्त, समुदाय प्रहरी साझेदारीका विभिन्न समिति, नागरिक समाज, स्वास्थ्य संस्था र सञ्चारकर्मी सम्मिलित समिति गठन गरिएको छ ।

यही २९ गतेदेखि पहिलो चरणमा प्रचारप्रसारका कार्यक्रमलाई तीव्रता दिने, सूचना टाँस गर्ने, अस्पताल नजिक रहेका होटलमा सुर्तीजन्य पदार्थ हटाउन लगाउने र त्यसपछि पनि बिक्री वितरण र प्रयोग गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउने गरी अभियान सञ्चालन हुने छ ।

अस्पतालको १०० मिटरसम्म सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखनमा रोक लगाइने परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जरिवाना नगरी ऐन कार्यान्वयन हुने अवस्था नदेखिएकाले कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । नारायण ढुङ्गाना/रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter