• Saturday, April 26, 2025

एबिसीमा पुनर्निर्माणले गति लियो

पोखरा, जेठ ७ गते । अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् ।

गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको स्थानीय समाजसेवी एवम् अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७६ का संयोजक ललित गुरुङले जानकारी दिनुभयो । अकल्पनीय रूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।

हिमआँधीको समयमा उक्त स्थानमा कुनै मानिस नरहेका कारण मानवीय क्षति भने भएको थिएन । गुरुङका अनुसार क्षतिग्रस्त संरचनालाई पूर्णरुपमा निर्माण गरी पूर्ववत् अवस्थामा ल्याउन करीब रु १२ करोड लाग्ने अनुमान गरिएको छ । क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन सकेको थिएन । यस क्षेत्रमा पदयात्रा पर्यटनको दोस्रो याम मार्चदेखि मे महीनाको समयमा अन्नपूर्ण आधार शिविरमा भएको क्षतिले पर्यटक समस्यामा परे पनि अर्को याम शुरु हुँदासम्म सम्पूर्ण पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ ।

“यस याममा अन्नपूर्ण आधार शिविरमा पर्यटकले रात बिताउन नपाए पनि स्थानीय पर्यटन व्यवसायीले दिउँसो करीब डेढ घण्टाको हाइकिङ गराई पर्यटकलाई माछापुच्छ«े आधार शिविरमा ल्याएर बस्ने व्यवस्था मिलाएका छन्”, संयोजक गुरुङले भन्नुभयो । अर्को याममा भने पर्यटक अन्नपूर्ण आधार शिविरमा नै बस्ने गरी व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेका अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

करीब चार दशकअघि सम्म एबिसी जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा नै पर्यटक बस्ने गर्दथे । विसं २०३८ देखि यस ठाउँमा सुविधा सम्पन्न होटल सञ्चालन शुरु गरिएको स्थानीयवासी बताउँछन् । यहाँस्थित होटललाई क्रमशः सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरूप बर्सेनी पूर्वाधार थप हुँदै गएसँगै करीब १०० जनाभन्दा बढी बस्न सक्ने व्यवस्था मिलाइएको थियो ।

पदयात्रा पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको अन्नपूर्ण आधार शिविर जाने बाटोका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ«े आधार शिविरमा अन्नपूर्ण आधार शिविरका चार वटा होटेलसहित कूल २६ वटा सञ्चालनमा छन् ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा क्षति भएसँगै अन्नपूर्ण गाउँपालिका कास्कीले स्थलगत अध्ययन गरी रु तीन करोड ५६ लाख नोक्सान भएको यकिन गरी क्षतिपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो । हिमपातसँगै पदमार्ग क्षेत्रका दुई वटा पुल भत्केका कारण सो स्थानमा रु पाँच–पाँच लाखको लागतमा फलामे पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविरसहित यस क्षेत्रको पर्यटकीय आकर्षणको प्रचारप्रसार गर्ने उद्देश्यका साथ यही जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव हुने भएको प्रचारप्रसार समितिका संयोजक टङ्कराज अधिकारीले जानकारी दिनुभयो । महोत्सवको अन्तिम दिन जेठ २० ९अन्नपूर्ण आरोहण दिवस० का दिन अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter