• Saturday, April 26, 2025

नेपाल हरेक सूचाङ्कमा माथि उक्लिएकाे छ :मन्त्री बाँस्कोटा

काठमाडौं, फागुन १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा शान्ति र लोकतन्त्रलगायतका क्षेत्रमा अत्याधिक मात्रामा सुधार भएको बताउनुभएको छ ।

मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको प्रश्नको उत्तर दिनुहुँदै उहाँले लोकतन्त्रको इन्डेक्समा नेपालको पाँच स्थान सुधार हुँदै ४२ औं स्थानमा उक्लेको बताउनुभएको हो ।

डेमोक्रेसीको इन्डेक्सका अनुसार नेपालमा अधिनायकवाद हावी भन्नेलाई यो सूचाङ्कले हावा खुवाएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

आम शान्ति सुव्यवस्थामा पनि सुधार भएको बताउँदै उहाँले ग्लोबल इन्डेक्समा १२ बिन्दुको सुधार भएको छ, भन्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपालमा विधिको शासन बलियो भएको बताउनुहुँदै जस्टिस प्रोजेक्टको सर्भेमा ‘रुल अफ ल’ इन्डेक्समा नेपालले दुईस्थान सुधार गर्दै ५९ औंमा पुगेको बताउनुभयो ।

त्यस्तै, भ्रष्टाचार सूचाङ्कमा सरकारले गरेका कामका कारण ११ औं स्थान उक्लिएर ११३ मा नेपाल पुगेको प्रसङ्ग सुनाउनुभयो ।

नेपाली जनताको जीवनस्तर दुई स्थान माथि उक्लिएको बताउँदै १४९ औं स्थानबाट १४७ औं स्थानमा पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

नेपाल सरकारका प्रवत्ता पनि रहनुभएका मन्त्री बाँस्कोटाले समृद्ध नेपाल सुखी नेपालीको नतिजा पनि राम्रो देखिएको औंल्याउनुभयो ।

सुखी इन्डेक्समा नेपालको स्थान दुई स्थान अगाडि बढेको र लगानीको वातावरण ‘डुइङ बिजनेस’मा १६ औं स्थान माथि बढ्दै १९४ औं स्थानमा पुगेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

२०७६ साल माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु

१. उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछाम जिल्ला मल्लेख गाँउपालिका वडा न. ५ का गम्भीर साँउद, मोहन साँउद, रामबहादुर साँउद र नरबहादुर साँउदको उपचार तथा बिरामी कुरूवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

२. थापाथली क्याम्पस (इन्जिनियरिङ्ग अध्ययन संस्थान), थापाथली, काठमाडौंलाई बि.ई. अटोमोबाइल (४८ जना) र बि. आर्किटेक्चर (४८ जना) सहितको नयाँ थप कार्यक्रम अध्ययन–अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गरिएको छ ।

३. नेपाली सेनालाई श्रीमेहर गणको सुरक्षाजन्य कम्पोजिट लजिष्टिक बेस निर्माण गर्नका लागि बाँके जिल्लाको साविक रझेना गाविस हाल कोहलपुर नगरपालिका वडा न. २ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको मयुर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक वनमा रहेका रूखहरू हटाउन स्वीकृत दिइएको छ ।

४. तल्लो लिखु जलविद्युत आयोजनाको इन्टेक पावरहाउस सर्जसाफ्ट र पेनस्टक लगायतका स्थायी संरचनाहरू निर्माण गर्न रामेछाप र ओखलढुङ्गा जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ०.८६ हेक्टर (रामेछापको लिखुतामाकोशी गाँउपालिका–४ मा रहेको सिपुपाखा, रातामाटा सामुदायिक वनहरूसमेतको ०.७१ हेक्टर र ओखलढुङ्गाको लिखु गाँउपालिका अन्र्तगतको ०.१५ हेक्टर राष्ट्रिय वन) जग्गा प्रयोग गर्न स्वीकृती दिइएको छ ।

५. नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट (क्रुज स्टेशन) निर्माण गर्न चितवन जिल्ला भरतपुर महानगरपालिका–१६ स्थित राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिइएको छ ।

६. बुर्तिवाङ्ग–पहुँदीअमराई–तम्घास–गोरूसिङ्गे १३२ के.भी. प्रसारणलाईनको अर्घाखाँची खण्डको ‘राइट अफ वे’सहित केही टावर संरचनाहरू तयार गर्न अर्घाखाँची जिल्लाको विभिन्न सामुुदायिक वनहरूको कूल ४७.६६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृती दिइएको छ ।

७. नेपाल नागरिक उड्डयनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

८. बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहने ११ औं तहका प्रमुख कन्सल्टेन्ट इ.एन.टि. सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ सेवा नियमावली, २०५५ बमोजिम स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका सचिवमार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरिएको छ ।

९. नेपाल स्वास्थ अनुसन्धान परिषदको सदस्य सचिव पदमा रिब्दीकोट–५, पाल्पा निवासी डा. प्रदिप ज्ञवालीलाई ४ वर्ष पदावधि कायम हुने गरी तोक्ने र २०७३ फागुन १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार कार्यकारी अधिकार अध्यक्ष डा. अन्जनी कुमार झालाई तोकिएकोमा सो अधिकार फिर्ता गर्ने निर्णय गरिएको छ ।

१०. नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेपलाञ्चोक निवासी भारती भेटुवाललाई चार वर्ष पदावधि रहने गरी मनोनित गर्ने निर्णय गरिएको छ ।

११. देहायका पदाधिकारी तथा व्यक्तिलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा मनोनीत गरिएको छ–

क) डा. जागेश्वर गौतम, निर्देशक, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल
ख) डा. आरपि. विच्छा, निर्देशक, कान्ति बाल अस्पताल
ग) श्री भक्तिमान सुब्वा सम्बाहाम्फे, रानीगाँउ–६, पाँचथर
घ) श्री पेम्वा लामा, हेलम्बु–२, सिन्धुपाल्चोक

१२. बालबालिका सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

१३. स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

१४. नेपाल प्रत्यायन (एक्रिडिटेशन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

१५. झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका श्री राधाकृष्ण खनाललाई र सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका श्री मदनप्रसाद अधिकारीलाई २०७७ असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ ।

१६. कर्जा सूचनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter