• Monday, April 28, 2025

कोरोनाको त्रास हटाउन र जनचेतना अभिवृद्धिकाे लागि घरदैलो अभियान

रमेश गिरी / भक्तपुर, फागुन ६ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, सशस्त्र प्रहरी गुह्ेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेका हो । खरीपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त सुरक्षा फौजका टोली घरघरमा पुग्नु भएको थियो ।

प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै ‘हेल्थ डेक्स’ राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थय जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारे जानकारी गराउनुभयो । चीनको वुहानबाट फर्काएर खरीपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयले घर छोड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो ।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनका नेपाली सुरक्षित रहेको, उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएकोले आत्तिनुपर्ने अवस्था नरहेको, माक्स कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराएको पौडेलले बताउनुभयोे । घरदैलोमा स्थानीयलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्ने जस्ता सावधानी अपनाउनुपर्नेबारे जानकारी गराउनुभएको थियो ।

घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले घर छाडेर नगएको दाबी गर्दै कोठामा बस्ने केही दिनका लागि दुई चार परिवार गाउँ फर्किएको बताउनुभयो । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाको फोटो खिचेर, काममा गएकाको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताउनुभयो ।

स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राख्नुभयो । भाडामा बस्ने केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उहाँले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताउनुभयो । भूकम्पमा गाउँ छाडेका भाडामा बस्नेले अहिले कोठामा ताल्चा लगाएर गएको बताउँदै उहाँले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीय लामो समय त्रासमा बस्नुपरेको गुनासो गर्नुभयो ।

स्थानीय राजाराम भण्डारीले भन्नुभयो, “सरकार आफँैले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयसँग बेला बेलामा अन्तक्र्रिया गरेको भए कुनै विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयलाई प्रहरीले लाँठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।”

उहाँले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध आएको आरोप लगाउनुभयो । जनतासँग प्रतक्ष्य जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयको भनाइ थियो । सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएको १७५ लाई खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिरहको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter