• Saturday, April 26, 2025

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

मोहम्मद सदरुल / विराटनगर, वैशाख ५ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ । उहाँले भन्नुभयो, “ भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । यस्तो अवस्थामा नेपाली जनतालाई यसको सङ्क्रमणबाट सुरक्षित राख्न नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकलाई अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्दछ ।” अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि पनि उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

“नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण देखिएकाले भारतबाट भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालबाट पनि सङ्क्रमण फैलिन सक्ने उच्च सम्भवना रहेको छ”, विराटनगरस्थित रौनक फार्मेसीका सञ्चालक श्याम श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि त्यस्ता चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने व्यवस्था लागू हुनुपर्दछ ।” उहाँले ‘भीडभाडमा जीउ जोगाउनु र अनिकालमा बीउ बचाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

नेपाल अधिकांश कुरमा परनिर्भर छन् । यस्तो अवस्थामा नेपालमा आयात हुने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरु पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने एमआर नवराज पाण्डेले जानकारी दिनुभयो ।

“कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइने कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ”, स्थानीय बुद्धिजिवी राजेश ढङ्गोलले भन्नुभयो, “ कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षण र उपचार व्यवस्थालाई व्यापक बनाउनुपर्ने आवश्यकता छ ।”

शङ्कास्पद देखिएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter