बीस आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति; एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

सिबी अधिकारी / काठमाडौँ, चैत १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।

सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।

पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन् ।

यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।

आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ । आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ ।

मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेको थियो ।

पर्यटन गतिविधि सहजः एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् ।

विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा छ हजार १६९ पुरुष, एक हजार ४७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट एक हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । जसमा एक हजार २९ पुरुष र १७८ महिला छन् ।

एक महिनामा अमेरिकाबाट एक हजार ५६ पुरुष र ६४७ महिला गरी एक हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्याङ्कअनुसार गत जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी एक महिनामा नौ हजार ५८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा छ हजार ६६३ पुरुष, दुई हजार ९१३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् ।जसमा चालिस हजार ५६ पुरुष, आठ हजार ८४८ महिला र एक अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter