दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति; तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

काठमाडौँ, चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसार काठमाडौँका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।
प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो ।
तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइ जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियो ।
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन
कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताउनुभयो । उहाँले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको जानकारी दिनुभयो ।
आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको उहाँको भनाइ छ । उहाँले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने बताउनुभयो । उहाँले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताउनुभयो ।
सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताउनुभयो ।