सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग; विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री

काठमाडौँ, चैत २९ गते । शिक्षक महासंघको आह्वानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै समाजवादी मोर्चा, नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ ।
मोर्चाले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।
प्रेस वक्तव्यमा मोर्चाले शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
मोर्चाले शिक्षकका उठान गरिएका मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न र संविधानद्वारा प्रत्याभूत शिक्षाको हक सुनिश्चित गर्न सरकारसँग जोडदार अपिल गरेको छ।
साथै, शिक्षामा समान पहुँच र गुणस्तर सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि संसदको विशेष अधिवेशन सर्वदलीय सहमतिमा तत्तकाल आह्वान गर्न आग्रह गरिएको हो।
समाजवादी मोर्चाका संयोजक विप्लवद्वारा हस्ताक्षरित वक्तव्यमा विद्यालय शिक्षा ऐन प्रभावकारी कार्यान्वयनका लागि समेत सरकारलाई गम्भीर पहल गर्न अनुरोध गरिएको छ।
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) रूपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलतमा रहिरहन नपर्नेमा जोड दिनुभएको हो ।
“समस्याहरू छन्, तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु । तपाईँहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।
अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गर्नुभयो ।